वीरगन्ज । सशस्त्र प्रहरीमाथिको आक्रमण प्रकरणमा पर्सामा चार जना पक्राउ परेका छन् ।
वीरगन्जको आदर्शनगरस्थित एक गोदाममा भएको छापामारी विवादमा सशस्त्र प्रहरीमाथि कुटपीट गरेको आरोपमा चार जनालाइ पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार उनीहरुलाइ सिसिटिभि फुटेजको आधारमा ‘स्क्रिनिङग’ गरेर पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेकाले उनीहरुको नाम गोप्य राखिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका चारै जनालाइ पर्सा प्रहरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
घटनामा सलंग्न अन्य व्यक्तिहरुको खोजी तीव्र पारिएको बताइएको छ । पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकका अनुसार यो कानुनी राज्यको उपहास हो, यूनिफर्ममाथि आक्रमण गर्नेलाइ सख्त कारबाही हुन्छ । उनले भने, ‘दोषी जो–कोही भए पनि कानुनको दायरामा ल्याइनेछ, कडाभन्दा कडा सजाय दिइनेछ ।’
के हो घटना ?
यो घटना सोमबार बिहान साढे ९ बजेको हो ।
सशस्त्र प्रहरीको टोलीले आफूलाइ पाएको सूचना बमोजिम आदर्शनगरस्थित मदन गुप्ताको घरमा पुग्यो ।
उक्त टोलीमा सशस्त्र प्रहरी भन्सार कमाण्ड पोस्टबाट डिएसपी बिकाश अधिकारीसहित भन्सार कार्यालयका प्रतिनिधिसमेत थिए ।
प्रमोद साह कानुको नाममा रहेको गोदाममा सञ्चालकले ताल्चा खोलेपछि टोलीले कानुनी प्रकृयामार्फत नै सर्च अभियान चलाएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका पर्सा प्रमुख मोहन क्षेत्रीका अनुसार गोदाममा प्रहरीलाइ आएको सूचना बमोजिम नै कपडाहरु बरामद भए ।
उनले भने, ‘हामीले गोदाममा रित पूर्वक खानतलासी गर्दा ठ्याक्कै सूचनासॅंगै मेल खायो, अर्थात् प्रहरीले त्यहांबाट ठूलो परिमाणमा भन्सार छलीका कपडाहरु बरामद गर्यो । त्यसपछि बरामद कपडाहरु प्रहरीको भ्यानमा लोड गरी लैजान लाग्दा बाहिरबाट एक्कासी एक हुल आएर सशस्त्र प्रहरीमाथि आक्रमण गर्न थालेका हुन् ।’
व्यापारीले यूनिफर्ममाथि आक्रमण गरेपछि एकजना असइसहित तीन जना सशस्त्र प्रहरी घाइते भएका सशस्त्र प्रहरी प्रमुख क्षेत्रीले बताए । उनका अनुसार घाइते हुने प्रहरीहरुमा सशस्त्र प्रहरीका असई मोहम्मद मुस्ताक अली, हवल्दारद्वय जितेन्द्र कुमार र जितेन्द्र सहनी छन् ।
कुटपीटबाट घाइते भएकाहरुको सामान्य उपचारपछि कार्यालय फर्किएको सशस्त्र प्रहरीले जनाएको छ ।आक्रमणबाट सशस्त्र प्रहरीको दुइवटा गाडीको सिसा फुटेको छ ।
गोदामबाट सशस्त्र प्रहरीले १२ लाख ७२ हजारको भन्सार छलीका ५ पोका कपडा बरामद गरेको छ । बरामद कपडा आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइसकेको सशस्त्र प्रहरी बल पर्साले जानकारी दिएको छ ।