ट्रेन्डिङ

वीरगन्ज–९ बाट अजयकुमार चौरसियाको ठूलो घोषणा, भने- नारायणी अस्पताल अब मेडिकल कलेज बन्छ

वीरगन्ज । नेपाली कांग्रेसबाट पर्सा क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयकुमार चौरसियाले स्वास्थ्य, शिक्षा र रोजगारीलाई केन्द्रमा राख्दै सर्वसाधारण जनताका लागि ठूला विकासे घोषणा गरेका छन्।

वीरगन्ज महानगरपालिका–९ मा आयोजित वडास्तरीय भेलालाई सम्बोधन गर्दै उम्मेदवार चौरसियाले आम जनताको सहज स्वास्थ्य सेवाका लागि नारायणी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने घोषणा गरे।

यसले पर्सा लगायत मधेस क्षेत्रका नागरिकलाई गुणस्तरीय उपचार सेवा सहज रूपमा उपलब्ध हुने उनको दाबी छ।

स्वास्थ्य क्षेत्रसँगै खेलकुद पूर्वाधार सुधारमा पनि जोड दिँदै चौरसियाले नारायणी रंगशालालाई मर्मत तथा स्तरोन्नति गरेर आकर्षक बनाउने प्रतिबद्धता जनाए।

देशको आर्थिक अवस्था कमजोर बन्दै गएको उल्लेख गर्दै उम्मेदवार चौरसियाले युवालाई रोजगारी दिनु आफ्नो प्रमुख प्राथमिकता रहेको बताए।

बेरोजगारी समस्या समाधानका लागि यसै क्षेत्रमा पोलिटेक्निकल कलेज स्थापना गर्न बजेट व्यवस्था गराइसकेको उनले स्पष्ट पारे।

कलेज स्थापना भएपछि स्थानीय युवाले स्वदेशमै सीप र रोजगारी पाउने, जसका कारण विदेश जान बाध्य नहुनुपर्ने उनको भनाइ छ।

उनले यसअघिका निर्वाचनका क्रममा गरेका प्रतिबद्धतामध्ये वृद्धाश्रम निर्माण कार्य कार्यान्वयनको चरणमा रहेको जानकारी गराउँदै त्यसका लागि विभिन्न निकायबाट बजेट विनियोजन गराइएको बताए।

उम्मेदवार चौरसियाले अब आफू निर्वाचित भएपछि युवालाई पहिलो प्राथमिकतामा राख्दै उद्योगधन्दा स्थापना गराउने योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

चुनाव नजिकिँदै जाँदा चौरसियाको यी घोषणाले पर्सा क्षेत्र नम्बर–२ मा राजनीतिक चर्चा थप चुलिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै