ट्रेन्डिङ

धनुषामा सवारी दुर्घटनामा परी प्रहरी असईको मृत्यु, एक गम्भीर घाइते

जनकपुर । धनुषा नगरपालिका–६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार साँझ भएको सडक दुर्घटनामा प्रहरी असई देवानन्द फनैतको मृत्यु भएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बमका अनुसार, साँझ करिब साढे ६ बजे इटहरीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३७१८ नम्बरको तेल ट्याङ्करले सोही दिशातर्फ गइरहेका दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करमा परेको प्र २–०३–००१ प ८७२० नम्बरको मोटरसाइकल चालक, इलाका प्रहरी कार्यालय ढल्केवर धनुषामा लेखा प्रमुख कार्यरत प्रहरी असई देवानन्द फनैत, गम्भीर घाइते भएका थिए।

उनलाई मोडल अस्पताल लालगढ पठाइएकोमा चिकित्सकले करिब ७ बजे मृत घोषणा गरेका हुन्।

फनैत कार्यालयको कामका लागि भरतपुरबाट धनुषा फर्किंदै थिए।

त्यस्तै, प्र २–०१–००३ प ९९९३ नम्बरको मोटरसाइकल चालक, धनुषा–९ का रामकिशोर महतो पनि गम्भीर घाइते भएका छन्।

उनलाई थप उपचारका लागि जनकपुरतर्फ पठाइएको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै इ.प्र.का. यज्ञभूमि धनुषाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा संलग्न तेल ट्याङ्कर, दुवै मोटरसाइकल, र ट्याङ्कर चालक सुनसरीको उर्लाबारी–१ का ३६ वर्षीय दुर्गा माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै