ट्रेन्डिङ

जनताको अधिकार सुनिश्चित गर्न मधेस प्रदेशसभा थप प्रभावकारी बन्नुपर्छ : प्रमुख डा. कर्ण

जनकपुरधाम। मधेस प्रदेशका प्रमुख डा. सुरेन्द्रलाभ कर्णले जनताको हक अधिकार सुनिश्चित गर्न प्रदेश सभा थप प्रभावकारी बन्नुपर्नेमा जोड दिएका छन् ।

जनकपुरधामस्थित मधेस प्रदेशसभामा बुधबार आयोजित प्रदेशसभाको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो जोड दिएका हुन् । उनले सुशासनको प्रवर्द्धन तथा जनअपेक्षाअनुसार कानुन निर्माणमा मघेस प्रदेशसभाको भूमिका अझ प्रभावकारी हुनुपर्ने औल्यांए ।

कार्यक्रममा बोल्दै डा. कर्णले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्दै जनताको अधिकार सुनिश्चित गर्न प्रदेश सभाको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

उनले संविधानले परिकल्पना गरेका अधिकारको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकको जीवनस्तर उकास्न प्रदेशसभा प्रतिबद्ध रहनुपर्ने उल्लेख गरे।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभामार्फत निर्माण भएका कानुनहरूले मधेस प्रदेशको समग्र विकास, सामाजिक न्याय र समावेशिताको आधार तयार गरेको बताए। उनले प्रदेश सरकारले प्रदेशसभासँग समन्वय र सहकार्य गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा रोजगारीका क्षेत्रमा प्रभावकारी कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी दिए।

मुख्यमन्त्री यादवले राजनीतिक स्थायित्व, पारदर्शिता र जवाफदेहितालाई सुदृढ गर्दै सङ्घीय लोकतान्त्रिक प्रणालीलाई थप मजबुत बनाइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सभामुख रामअशिष यादव, उपसभामुख बबिता राउत इसर, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, उच्च सरकारी अधिकारीहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवका अवसरमा विविध औपचारिक तथा सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै