बारा । निर्वाचन नजिकिँदै जाँदा मतदाताको गोपनीयता उल्लंघन गर्ने गतिविधि बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले कडा चेतावनी दिएको छ ।
प्रशासनका अनुसार फेसबुक, युट्युब तथा अन्य सामाजिक सञ्जाल र अनलाइन सञ्चार माध्यम प्रयोग गरी सर्वसाधारण तथा मतदातासँग “कुन दल वा उम्मेदवारलाई मतदान गर्नुहुन्छ ?” भन्ने प्रश्न सोध्ने, मतदाताको धारणा सार्वजनिक गर्ने तथा गोपनीयता भंग गर्ने गतिविधि भइरहेको पाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराइले यस्ता कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) को विपरित भएको स्पष्ट पारेका छन् ।
यस प्रकारका अनलाइन सर्वे, प्रश्नोत्तर वा प्रचारात्मक सामग्री सार्वजनिक गर्ने जोकोहीलाइ पनि प्रचलित कानून अनुसार कडा कारबाही प्रक्रिया अघि बढाउने उनको चेतावनी छ ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत समेत रहेका भट्टराइले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आग्रह गर्दै सञ्चार माध्यम, राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणलाई आचारसंहिताको कडाइका साथ पालना गर्न निर्देशन समेत दिएका छन् ।
निर्वाचन प्रभावित हुने कुनै पनि गतिविधि सह्य नहुने उनको भनाइ छ ।
