बीरगन्ज । बीरगन्जको अलौंमा पाँच दिन अगाडि भएको विवाद महानगरका मेयर राजेशमान सिंहले निर्देशनमा भएको भिडिओ सार्वजनिक भएको छ ।
शुक्रबार विहानदेखि सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भइरहेको छ । जसमा महानगरका मेयर सिंहसंगै गएका नगर प्रहरी र उनका समर्थकहरुले एक ज्येष्ठ नागरिकको कठालो समातेर लछारपछार गरिरहेको छरपस्ट भइरहेको छ ।
त्यो भिडिओमा अलौं निवासी ज्येष्ठ नागरिक शिव ओम लामिछानेलाई महानगरका केही नगर प्रहरीहरुले जबरजस्ती समातेर तानिरहेको देखिन्छ, जुनकारणले उक्त भिडिओ सामाजिक सञ्जालको भित्ताहरु तताइरहेका छन् ।
नताताओस पनि कसरी, भोट दिएर मेयर बनाएका जनप्रतिनिधिबाट नै यो घटना भएपछि भिडिओ भुसको आगो झै दन्किरहेको छ ।
आफ्नै ज्येष्ठ नागरिक मतदातालाई मेयर सिंहकै रोहबरमा कठालो समातेर लछारपछार गरिएपछिसबैको ध्यान केन्द्रित गरेको छ ।
के भएको थियो त्यो दिन ?
यो घटना हो, सोमबारको । यो दिन बीरगन्ज महानगरपालिका मेयर सिंह आफ्नो नगर प्रहरीसहित अलौंमा पुगेका थिए ।
असोजको दोस्रो साताको आएको बाढीले खेत जलमग्न भएपछि त्यसको निकासको बहानामा उनी अलौं पुगेका थिए । त्यही बेला उनी नजिक मानिने अलौंका वडा सदस्य अमोद यादव पनि त्यहाँ पुगेका थिए । गाउँका समस्या समाधानका लागि घटनास्थलमा मेयर पुगेपछि गाउँका स्थानीयसहित ज्येष्ठ नागरिक एवम कांग्रेस बुथ सभापति लामिछाने पनि त्यहाँ पुगेको बताइन्छ ।
वडा अध्यक्ष सञ्जु क्षतकुलीले कांग्रेस बुथ सभापति लामिछानेलाई मेयर पुगेको ठाउँमा जान आग्रह गरेपछि उनी त्यहाँ पुगेको जनाइन्छ । एक प्रत्यक्षदर्शीका अनुसार त्यसपछि पानीको निकासको बारेमा मेयर सिंह र कांग्रेस बुथ सभापति लामिछानेबिच कुराकानी भइरहेको थियो ।
उनी भन्छन्, ‘त्यसपछि मेयरसाहेब आक्रोशित हुँदै आफ्ना ज्येष्ठ नागरिक मतदातालाई थर्काउँदै तपाइँ बढी बोलेको हो, हान भने । उनले हान भन्न साथ उनीसंगै गएका नगर प्रहरी र अन्यले लछारपछार गर्न थाल्यो । अनि कसैलै कांग्रेस बुथसभाति लामिछानेमाथि हातपात ग¥यो, कोही लछापछार गर्न थाल्यो ।’
यसरी आफ्नो बुवालाई मेयरकै निर्देशनमा हातपात गर्न थालिएपछि छोरा सुदर्शन लामिछानेले उहाँलाई बचाउँन प्रतिकार गरेको दाइ रोशन लामिछाने बताउँछन् । उनी भन्छन्, ‘तर उनलाई पनि छोडिएन, कुटपिट गरियो । भाइको टाउँकोमा चोट लागेको छ ।’
यसरी पावरको दुरुपयोग गर्न थालेपछि मेयरको गुण्डागर्दीविरुद्ध आफूहरु आन्दोलित भएको कांग्रेस नेता रोशन लामिछाने बताउँछन् । उनका अनुसार हामीलाइ अहिले पूरै अलौंबासी नै साथ दिइरहेको छ । मेयर सिंहले गाउँमा आएर क्षमा नमागेसम्म आफूहरु रिले अनशन जारी राख्ने उनको भनाइ छ ।
गएको सोमबारदेखि महानगरपालिका मेयर राजेशमान सिंहको गुण्डागर्दी एवम अभद्र विरुद्ध व्यवहारविरुद्ध स्थानीयले पाँच दिनदेखि रिले अनशन सुरु छ ।
गाउँको ज्येष्ठ नागरिककै मानमर्दन भएको ठहर गर्दै सर्वपक्षीय निर्णय गरेर अलौका स्थानीय रिले अनशनमा बसेको जनाइएको छ ।
किन भयो विवाद ?
यो घटनालाई कसरी राजनीतिक रंङ्ग दिइयो, त्यो झन चाखलाग्दो छ । कुरा यही शनिबारको हो, त्यो दिन सुरुमा अलौंका वडा सदस्य आमोद यादवले जमेको पानीलाई निकास दिन भन्दै त्यहाँ भेल बगाइदिए ।
जहाँबाट पानी बग्न थाल्यो, त्यो पानी बगेर अलौंको मन्सी टोलाको घरघरमा पुगेपछि झन विवाद सृजना भयो । त्यसपछि त्यहाँका स्थानीयले वडाअध्यक्ष सञ्जु क्षतकुलीलाई घरमा पानी पस्न थालेको भन्दै तत्काल भेल बन्द गर्न माग गरे ।
सोही माग अनुसार भेल खोलेको करिब ५ घण्टा पछाडि वडाअध्यक्ष क्षतकुलीले पुनः गएर भेल बन्द गरिदिए ।
अनि इन्ट्री भयो, मेयर राजेशमान सिंहको । भेल बन्द गरेपछि मेयर सिंहले वडाअध्यक्ष क्षतकुली तारन्तार फोन गरेर आक्रोश मात्रै पोखेनन्, गाउँमा राजनीतिक खेलिरहेको भनेर आरोपसमेत लगाउन भ्याए ।
वडाअध्यक्ष क्षतकुलीका अनुसार घटनाको भोलीपल्ट मेयरसाहेबले गाउँमा पानी पसेको/नपसेको बारे अध्ययन गर्न एक टोलीलाई निरीक्षण गर्न पठाउनु भयो, त्यही क्रममा सोही दिन गाउँका सुदर्शन लामिछाने वडा सदस्य यादवबिच विवादसमेत भएको बताइन्छ ।
वडाअध्यक्ष क्षतकुलीका अनुसार त्यसपछि यो विवादको भोलीपल्ट उनी आफै दलबलसहित सोमबार गाउँमा आए, जहाँ शिव ओम लामिछानेमाथि दुव्र्यवहार गरियो । सामान्य बातचित भइरहेको बेला एकाएक उनीमाथि आक्रमण सुरु भएको एक प्रत्यक्षदर्शी बताउँछन् ।
उनका अनुसार मेयर सिंह पछिल्लो समय आफ्नो कामसंगै संगठन विस्तारलाई प्राथमिकतामा राखेका छन् । मेयरमा भएकै बल स्थानीयमा पकड बढाउनुको साथै संगठनलाई बलियो बनाउन प्रयासरत रहेको उनको ठम्याइछ ।
उनी भन्छन्, ‘यो घटनामा कुनै विवाद थिएन, तर जसपा नेपालबाट अशोक राइ नेतृत्वको पार्टीमा उनी प्रवेश गरेपछि अहिले त्यो संगठन कमजोर छ, खासगरी अलौंतिर झन पकड छैन । त्यही पकड बनाउन यो सब भएको हो ।’
यस विषयमा प्रतिक्रिया लिन खोज्दा मेयर सिंह तथा उनका सचिवालयमा पटकपटक फोन गर्दा समेत कोही सम्पर्कमा आउन चाहेनन् ।