ट्रेन्डिङ

निर्वाचन नजिकिँदै जाँदा पर्सा–३ मा चहलपहल, मतदाताको प्रश्न– ‘भाषण होइन, काम चाहियो’

वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूको चुनावी गतिविधि तीव्र बन्दै गएको छ । निर्वाचनमा अब ३४ दिन मात्र बाँकी रहँदा उम्मेदवारहरू प्रचार–प्रसार, घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त देखिएका छन् ।

एकातर्फ उम्मेदवारहरू जितको आशामा मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन् भने अर्कोतर्फ मतदाताहरू भने आफ्नो क्षेत्रको विकास कहिले र कसले गर्ला भन्ने चासोमा छन् । यसपटक मतदाताहरू केवल भाषणभन्दा पनि व्यवहारिक काम गर्ने दल र उम्मेदवार खोजिरहेको देखिन्छ ।

पर्सा क्षेत्र नम्बर–३ मा पनि चुनावी चहलपहल बढ्दो छ । स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका १९ जना उम्मेदवार प्रतिनिधि सभा सदस्य पदका लागि प्रतिस्पर्धामा छन् । तर, सर्वसाधारण भने आधारभूत समस्या समाधान नहुँदा अझै असन्तुष्ट र निराश छन् ।

मतदाताहरू संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमा नपाएको गुनासो गर्दै निर्वाचनमार्फत स्पष्ट प्रतिबद्धता खोजिरहेका छन् । यसपटक जनताको मुख्य मुद्दा भाषण होइन, प्रत्यक्ष काम बनेको छ ।

पर्सा क्षेत्र नम्बर–३ को अवस्था

पर्सा क्षेत्र नम्बर–३ सदरमुकाम वीरगञ्जबाट करिब १० किलोमिटर पश्चिममा पर्छ । यस क्षेत्रमा ३५ वटा वडा रहेका छन् । पटेर्वासुगौली, सखुवाप्रसौनी, विन्दवासिनी, जगरनाथपुर, पकहामैनपुर गाउँपालिका तथा पोखरिया र बहुदरमाइ नगरपालिका यस क्षेत्रअन्तर्गत पर्दछन् ।

सदरमुकामसँग जोडिएको क्षेत्र भए पनि यहाँ अझै खानेपानी, गुणस्तरीय सडक, नाला, शिक्षा तथा उद्योग–कलकारखानाको अभाव छ । यसका कारण स्थानीय बासिन्दा दैनिक कामका लागि वीरगञ्जदेखि काठमाडौँसम्म धाउन बाध्य छन् ।

पोखरिया नगरपालिका वडा नम्बर–४ का वकिल मियाँका अनुसार क्षेत्र नम्बर–३ मा बेरोजगारी र शिक्षाको समस्या गम्भीर छ । २०३६ सालदेखि मतदान गर्दै आएका मियाँले स्वास्थ्य सेवाको अवस्था पनि कमजोर रहेको बताए । समयमै निःशुल्क औषधिसमेत नपाइने अवस्था रहेको उनको गुनासो छ ।

उनले भने, “भौतिक संरचना केही बने पनि शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा खासै सुधार भएको छैन । राजनीतिक दलहरूले यी विषयलाई प्राथमिकतामा राख्नुपर्छ ।”

गोविन्दपुरका ६३ वर्षीय मोहन साहले पनि जनताको वास्तविक विकास नभएको बताए । सामान्य समस्याका लागि समेत सास्ती खेप्नुपरेको तर सुनुवाइ नहुने उनको गुनासो छ ।

“मलसमेत ब्ल्याकमा किन्नुपर्ने अवस्था छ । चुनावताका गरिने भाषणको पाँच प्रतिशत काम भए पनि जनतालाई ठूलो राहत मिल्थ्यो,” उनले भने । युवाका लागि रोजगारी सिर्जना गर्न उद्योग–कलकारखाना अपरिहार्य रहेको उनको भनाइ छ ।

विन्दवासिनी गाउँपालिका वडा नम्बर–२ का गया प्रसाद गुप्ताले पनि निर्वाचित नेताहरू भ्रष्टाचारमै सीमित भएको आरोप लगाए । “सडक र खानेपानीको अवस्था अझै अपुरो छ । कर बढेको छ, तर सेवामा सुधार छैन,” उनले भने । मधेस सुक्खाग्रस्त बन्दै गएकाले खानेपानीको दीर्घकालीन समाधान आवश्यक रहेको उनको जोड छ ।

ग्रामीण क्षेत्र हासवाका जितबहादुर सहनीले सरकारी सुविधामा भेदभाव हुने गरेको गुनासो गरे । रोजगारीको अवसर सिर्जना भए मात्रै जनताको जीवनस्तर उकासिने उनको भनाइ छ ।

त्यस्तै बहुअर्वा भाठाकी सुमित्रादेवी पटेलले बढ्दो महँगी र बेरोजगारीप्रति चिन्ता व्यक्त गरिन् । “शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार भए जनतालाई ठूलो राहत मिल्छ,” उनले भनिन् ।

उम्मेदवारहरू

यस क्षेत्रमा नेकपा एमालेबाट रुपेश कुमार पाण्डे उम्मेदवार छन् भने नेपाली कांग्रेसले सुरेन्द्र कुमार चौधरीलाई मैदानमा उतारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कांग्रेस छाडेर आएका रामाकान्त प्रसाद चौरसिया उम्मेदवार बनेका छन् । त्यस्तै नेपाली कांग्रेसका छोटेलाल यादव पनि चुनावी प्रतिस्पर्धामा छन् ।

एमालेका पाण्डे यस क्षेत्रका नयाँ अनुहार हुन् भने २०४८ सालदेखि प्रतिनिधित्व गर्दै आएका कांग्रेसका चौधरी अनुभवी नेता मानिन्छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै