वीरगन्ज । पर्सा क्षेत्र नम्बर–१ मा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले नेपाली कांग्रेस, एमालेलगायत ठूला दलहरूविरुद्ध तीव्र राजनीतिक आक्रमण गरेका छन्।
माघ १८ गते वीरगन्ज महानगरपालिका वडा नम्बर–१८ भवानीपुर, इनर्वा तथा वडा नम्बर–२२ जगरनाथपुरमा सम्पन्न भेटघाट, संवाद तथा घरदैलो कार्यक्रममा सरार्फले मधेस आन्दोलन र जेनजी आन्दोलनका क्रममा निर्दोष युवाको रगत बगाउने दलहरूलाई अब मतपेटिकामार्फत कारबाही गर्नुपर्ने समय आएको घोषणा गरे।
सरार्फले भने, “युवाको बलिदानमाथि सत्ता टिकाउने राजनीति अब सह्य हुँदैन। जेन्जी युवाको हत्या गर्ने दल र तिनका उम्मेदवारलाई जनताको अदालतमा उभ्याएर ब्यालेटमार्फत सजाय दिनुपर्छ।”
उनले ठूला दलहरूले मधेस र युवालाई केवल प्रयोग गरेको आरोप लगाउँदै यसपटक ती दललाई बहिष्कार गर्दै स्पष्ट खबरदारी गर्न मतदातालाई आह्वान गरे।
उनले देश र मधेस दुवैको राजनीतिक, आर्थिक र सामाजिक निकासको स्पष्ट भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्रै रहेको दाबी गरे।
पुरानो सत्ता संरचनाबाट परिवर्तन सम्भव नभएको जिकिर गर्दै सरार्फले “वास्तविक परिवर्तन चाहनेहरूले हर्न छापमा मतदान गर्नुपर्छ” भन्दै मतदातालाई प्रत्यक्ष अपिल गरे।
घरदैलो तथा संवाद कार्यक्रममा जनमत पार्टीका नेता रम्भा मिश्रा, भुपेन्द्र साह, डा. मनोज कुमार, सिए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, नागेन्द्र सिंह, अन्जना गुप्ता, नजमा खातुन, अनिता रौनियारलगायतको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा स्थानीयवासीहरूले मधेसको अधिकार, युवाको भविष्य र पुराना दलप्रतिको निराशा खुलाएर व्यक्त गरेका थिए।