वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले निर्वाचनको मैदान तताउँदै क्षेत्र नम्बर–१ का सक्रिय सदस्यहरूसँग रणनीतिक अन्तरक्रिया सम्पन्न गरेको छ।
कार्यक्रममा पर्साका चारै क्षेत्रमा रास्वपाको जित सुनिश्चित गर्ने लक्ष्यसहित संगठन सुदृढीकरण र चुनावी मोर्चाबन्दीबारे तीव्र छलफल भएको हो।
अन्तरक्रियामा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले भ्रष्टाचारविरुद्धको संघर्षलाई कसरी जनस्तरसम्म पुर्याउने, पुराना दलको कुशासनविरुद्ध प्रभावकारी अभियान कसरी चलाउने भन्ने विषयमा स्पष्ट र प्रहारात्मक सुझावहरू राखेका थिए।
छलफलका क्रममा चुनावलाई “सामान्य प्रतिस्पर्धा होइन, व्यवस्था र प्रवृत्तिविरुद्धको लडाइँ”का रूपमा चित्रित गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा सभापति तथा क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तले फागुन २१ गतेको निर्वाचनलाई नेपाली जनताको आक्रोश ब्यालेटमार्फत पोखिने निर्णायक दिन भएको बताए।
उनले वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, नातावाद, कृपावाद र कुशासनविरुद्ध यसपटक जनताले स्पष्ट फैसला गर्ने दाबी गरे।
सभापति पन्तले क्षेत्र–१ मात्र होइन, पर्साका चारै क्षेत्रमा रास्वपाप्रति बढ्दो जनसमर्थन देखिएको उल्लेख गर्दै कार्यक्रममा देखिएको विशाल सहभागिताले जितको आधार थप बलियो बनाएको बताए।
सयौं रास्वपा समर्थकहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापति राम आर्या, फैयाद मियाँलगायत नेताहरूको सहभागिता थियो।
सहसचिव कृष्ण पास्वानको सञ्चालन र महानगर सभापति अमन आलमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।