ट्रेन्डिङ

लौरो टेकेर मैदानमा अजय चौरसिया: “कांग्रेस हार्‍यो भने देश असुरक्षित हुन्छ” भन्दै पर्सा–२ मा हुंकार

वीरगन्ज । खुट्टामा गहिरो चोट, चल्न गाह्रो अवस्था, तर मनमा देशप्रतिको चिन्ता अझ गहिरो।

पूर्वमन्त्री अजयकुमार चौरसियाले स्वास्थ्यको प्रवाह नगरी लौरो टेकेरै चुनावी मैदानमा उत्रिँदै पर्सा क्षेत्र नम्बर–२ मा आफ्नो चुनावी अभियान आक्रमक रूपमा अघि बढाएका छन्।

निर्वाचनको घडी नजिकिँदै जाँदा आराम गर्ने बेला भए पनि चौरसियाले जनताको बीचमै रहने बाटो रोजे।

वीरगन्ज महानगरपालिका वडा नम्बर–२६ मा बिहानैदेखि मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले कांग्रेसलाई जिताउन भावनात्मक अपील मात्र गरेनन्, देशको भविष्यप्रति गम्भीर चेतावनी पनि दिए।

उनले भने, “आज म लौरो टेकेर आएको छु, तर देश लडखडिन नदिने जिम्मेवारीबाट पछि हटेको छैन। कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ, देश अस्थिर बन्छ।”

कांग्रेसको बलिदानी इतिहास सम्झाउँदै चौरसियाले आक्रमक शैलीमा प्रश्न उठाए,
“जब देश संकटमा थियो, तब को सडकमा थियो ? राजतन्त्रदेखि बन्दुक बोकेकासँग कसले लड्यो ? कांग्रेसले लडेर शान्ति ल्यायो। आज फेरि षड्यन्त्र भइरहेको छ, कांग्रेसलाई कमजोर पार्ने खेल चलिरहेको छ।”

उनले स्पष्ट शब्दमा चेतावनी दिँदै भने,
“यो पटक कांग्रेसले बहुमत नल्याए बाहिरी शक्तिहरूले देशलाई प्रयोगशाला बनाउने छन्, रणभूमि बनाइने खतरा छ। त्यसलाई रोक्ने शक्ति कांग्रेस मात्रै हो।”

विकासका सवालमा चौरसिया अझै कडा देखिए।

आफूले पर्सा–२ मा सधैं विकासलाई प्राथमिकतामा राखेको दाबी गर्दै उनले भावुक हुँदै भने, “मैले यो क्षेत्रलाई राजनीतिक प्रयोगशाला बन्न दिएको छैन। जितेपछि वृद्धाआश्रम, पुल, विश्वविद्यालय, सडक र आवश्यक भौतिक संरचना निर्माण गर्छु। काम नगरे अर्को चुनावमा उम्मेदवार नै बन्दिन।”

चोटका बाबजुद जनताको घरदैलोमा पुगेको दृश्यले धेरै मतदातालाई भावुक बनाएको छ।

स्थानीय एक वृद्ध मतदाताले भने, “हामी हिँड्न नसक्दा घरमै बस्छौं, उहाँ चोट बोकेर हामीकहाँ आइपुग्नुभएको छ, यो समर्पण हो।”

पर्सा–२ मा चुनावी माहोल तातिँदै जाँदा अजयकुमार चौरसियाको आक्रमक अभिव्यक्ति, भावनात्मक अपील र ‘देश जोगाउने’ एजेन्डाले चुनावलाई निर्णायक मोडतर्फ लैजाने संकेत देखिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै