वीरगन्ज । साना नानीहरूको उज्यालो भविष्य निर्माणमा समर्पित लिटल बडी प्रिस्कुलले आज आफ्नो तेस्रो वार्षिकोत्सव भव्य र उल्लासपूर्ण वातावरणमा मनाएको छ ।
वीरगन्जस्थित क्लासिक होटलमा आयोजित कार्यक्रममा शिक्षा, संस्कार र सिर्जनशीलताको सुन्दर संगम देखिएको थियो।
छोटो समयमै अभिभावकहरूको भरोसा जित्न सफल लिटल बडी प्रिस्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भन्दै कार्यक्रममा सहभागी अभिभावक तथा अतिथिहरूले विद्यालयको खुलेर प्रशंसा गरे ।
बालमैत्री कक्षा व्यवस्थापन, सकारात्मक सिकाइ वातावरण र अनुशासित शैक्षिक माहोल विद्यालयको विशेष पहिचान बनेको उनीहरूको भनाइ थियो।
वार्षिकोत्सवको अवसरमा नानीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रम र मनमोहक नृत्यले कार्यक्रमस्थललाई थप रंगीन बनाएको थियो ।
साना बालबालिकाको आत्मविश्वासपूर्ण प्रस्तुति र सिर्जनशील क्षमताले अभिभावकहरूलाई भावुकसमेत बनाएको देखिन्थ्यो।
विद्यालयका प्रधानाध्यापक विजय बलले विद्यार्थीलाई पढाइमा मात्र होइन, जीवनोपयोगी सीप, अनुशासन र आत्मविश्वासमा पनि सक्षम बनाउने लक्ष्यका साथ विद्यालय अघि बढिरहेको बताए ।
“बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षासँगै अतिरिक्त क्रियाकलाप अनिवार्य छन्, त्यसै उद्देश्यले वार्षिकोत्सवसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो,” उनले भने।
उनका अनुसार आगामी दिनमा पनि विद्यार्थीको व्यक्तित्व विकासमा केन्द्रित यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।
पीजीदेखि यूकेजीसम्मका विद्यार्थीहरू अध्ययनरत लिटल बडी प्रिस्कुल बालमैत्री शिक्षा, अनुभवी शिक्षकीय टिम र सकारात्मक वातावरणका कारण वीरगन्जमा अभिभावकहरूको पहिलो रोजाइ बन्दै गएको छ ।
तेस्रो वार्षिकोत्सवले विद्यालयको प्रतिबद्धता, उपलब्धि र उज्यालो यात्रालाई थप मजबुत बनाएको सन्देश दिएको छ।

