जनकपुर । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट जेन–जी पुस्ताका ५८ जना युवा उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार तीमध्ये दुईजना महिला र ५६ जना पुरुष रहेका छन्।
आयोगका अनुसार जेनजी पुस्ताका उम्मेदवारमध्ये ४१ जना स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन् भने १७ जना विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका हुन्।
युवाको उल्लेखनीय सहभागिताले यसपटकको निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र रोचक बनाउने अपेक्षा गरिएको छ।
दलगत विवरण हेर्दा उज्यालो नेपाल पार्टी र जनमत पार्टीले सर्वाधिक तीन–तीन जना जेन–जी उम्मेदवार अघि सारेका छन्।
श्रम संस्कृति पार्टीले दुईजना युवा उम्मेदवार उठाएको छ।
यसैगरी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी, आम जनता पार्टी, जन अधिकार पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र नेपालका लागि नेपाली पार्टीले एक–एक जना जेनजी पुस्ताका युवालाई उम्मेदवार बनाएका छन्।
उज्यालो नेपाल पार्टीले सिराहा–३ बाट २६ वर्षीय सर्वन पासवान, महोत्तरी–१ बाट २८ वर्षीय मनोज कुमार गुप्ता र रौतहट–२ बाट २५ वर्षीय रामाकान्त प्रसाद पटेललाई उम्मेदवार बनाएको छ।
जनमत पार्टीले महोत्तरी–१ बाट २७ वर्षीय वीरेन्द्र महतो, रौतहट–२ बाट २८ वर्षीय सोनु कुस्वाहा र रौतहट–४ बाट २८ वर्षीय राम कल्याण राउतलाई चुनावी मैदानमा उतारेको छ।
श्रम संस्कृति पार्टीले सिराहा क्षेत्रबाट २६ वर्षीय पंकज कुमार ठाकुर र पर्सा–१ बाट २८ वर्षीय वसिम शेषलाई उम्मेदवार बनाएको छ।
नेकपा एमालेले सर्लाही–४ बाट पूर्व सांसद शिव पूजन यादवका छोरा २७ वर्षीय कम्युनिस्ट कुमार यादवलाई उम्मेदवार बनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सिराहा–१ बाट पूर्व युवा तथा खेलकुद मन्त्री २८ वर्षीय बब्लु गुप्तालाई उम्मेदवार बनाएको छ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीले बारा–४ बाट २७ वर्षीय अजय कुशवाहा, राष्ट्रिय प्रजातन्त्र पार्टीले सप्तरी–२ बाट २७ वर्षीय अजयकुमार दास र नेपाल मजदुर किसान पार्टीले सोही क्षेत्रबाट निलम कुमारी यादवलाई उम्मेदवार बनाएको छ ।