ट्रेन्डिङ

पर्सा–१ मा चुनावी सरगर्मी, तर मतदाता उदासीन

हेभिवेट उम्मेदवार मैदानमा, जनतामा निराशा र संशय

वीरगन्ज। पर्सामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले चुनावी अभियान तिव्र पारेका छन्।

फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार बनेका दलहरू प्रचारप्रसार, मतदाता भेटघाट र संगठन विस्तारमा सक्रिय देखिएका छन्। तर, चुनावी गतिविधि बढे पनि मतदातामा भने उत्साह देखिएको छैन।

चुनाव हुने/नहुने विषयमै आम नागरिक संशयमा छन्।

राजनीतिक बहस कमजोर छ, मतदातामा निर्णय गर्ने मनस्थिति बनेको छैन।पर्सा क्षेत्र नम्बर–१ मा हेभिवेट उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि जनताको चासो अपेक्षित रूपमा बढ्न सकेको छैन।

यस निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ३० जनाको उम्मेदवारी परेको छ। तर, मतदातालाई को कुन दलबाट उम्मेदवार छन् भन्नेबारे खासै जानकारी र चासो देखिँदैन। पुराना दलबाट निर्वाचित जनप्रतिनिधिले काम गर्न नसकेको गुनासो व्यापक छ।

त्यसकै कारण मतदातामा वितृष्णा र आक्रोश बढ्दै गएको देखिन्छ। वीरगञ्ज महानगरपालिका–२३ सबैठवाका रामपुकार प्रसाद पुराना दलहरू असफल भइसकेको दाबी गर्छन्। विकास निर्माणदेखि उद्योग–धन्दा ध्वस्त हुँदा जनता बेरोजगार बनेको र नेताहरू जनताको समस्याप्रति संवेदनशील नदेखिएको उनको आरोप छ।

वीरगञ्ज–१४ का ध्रुव पटेल यसपालिको चुनावलाई प्राथमिकतामा राखेका छैनन्। नेताहरूले जनताका लागि ठोस काम नगरेको भन्दै उनी निराश छन्। पेसाले किसान रहेका उनी खेतीपातीमै व्यस्त छन् र सरकारले किसानका आधारभूत समस्या, विशेषगरी मलखादको व्यवस्थापनमा ध्यान नदिएको बताउँछन्।

वीरगञ्ज महानगरपालिका–मनियारीकी सुगिया देवीले पनि निर्वाचनप्रति खासै उत्साह नभएको बताइन्। मुसहर बस्तीमा आवास, खानेपानी, नाला, सडक, शिक्षा र स्वास्थ्यको अवस्था जटिल रहे पनि राजनीतिक दलहरूले त्यसप्रति चासो नदेखाएको उनको गुनासो छ।

घरदैलो नै सुरु नभएकाले उम्मेदवार को हुन् भन्ने थाहा नभएको उनी बताउँछिन्। वीरगञ्ज–१८ का शिवशंकर प्रसादले यसअघि निर्वाचित प्रतिनिधिले आफ्ना आसेपासेलाई मात्रै फाइदा पुर्‍याएको आरोप लगाए।

देश लुटेर निजी स्वार्थ पूरा गर्ने प्रवृत्ति हाबी भएको भन्दै उनले यसपटक मतदाताले नयाँ अनुहारलाई प्राथमिकता दिन सक्ने संकेत गरे। यही क्षेत्रका धेरै मतदाताले चुनाव हुने–नहुने विषयमै अझै विश्वास गर्न सकेका छैनन्।

वीरगञ्ज–२२ का सिकेन्द्र साह कानुका अनुसार २०४६ सालदेखि पुराना दलहरूले जनताको समस्या बेवास्ता गर्दै आएका छन्। त्यसैले यसपटक चुनावमा ठूलो उलटफेर हुन सक्ने उनको अनुमान छ।

वीरगञ्ज–१५ का सत्यदेव यादव चुनाव भए पनि स्थिर सरकार बन्नेमा विश्वस्त छैनन्।

नयाँ दलसँग पनि स्पष्ट एजेन्डा नदेखिएको र चुनावपछि पनि राजनीतिक अन्योल कायमै रहने उनको धारणा छ। पर्सा क्षेत्र नम्बर–१ मा यसपटक ३० उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये नेपाली कांग्रेसका अनिल रुंगटा, नेकपा एमालेका प्रदीप यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि पन्तलाई हेभिवेट उम्मेदवारका रूपमा हेरिएको छ।

पुराना दलहरू आफ्नै संगठन र स्थानीय जनप्रतिनिधिको बलमा मैदानमा छन् भने नयाँ दलप्रति केही मतदातामा आशा देखिए पनि त्यसमा पूर्ण विश्वास बनिसकेको छैन।चुनावी गतिविधि तीव्र हुँदै जाँदा पनि पर्सा–१ का मतदाता अझै निर्णायक मनस्थितिमा पुग्न सकेका छैनन्।

निराशा, आक्रोश र संशयबीच यो क्षेत्रको चुनावी नतिजा अन्तिम घडीको जनमतले नै तय गर्ने देखिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै