वीरगन्ज । पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका प्रतिनिधि सभा उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–३२ स्थित चोर्नी टोलमा घरदैलो, भेटघाट तथा संवाद कार्यक्रममार्फत जनसमर्थन मजबुत बनाएका छन्।
औद्योगिक नगरी वीरगन्जमै युवाहरू बेरोजगार भएर विदेश पलायन हुन बाध्य हुनु विडम्बनापूर्ण भएको बताउँदै उम्मेदवार सरार्फले वर्तमान नेतृत्वको असफलतामाथि कडा प्रश्न उठाए।
“कारखाना छन्, स्रोत छन्, तर रोजगारी छैन यो व्यवस्था र नेतृत्वको असफलता हो,” उनले भने।
सरार्फले आफू निर्वाचित भए पर्सा–१ का युवालाई रोजगारी र स्वरोजगारसँग जोड्ने ठोस योजना कार्यान्वयन गर्ने स्पष्ट प्रतिबद्धता जनाए।
सीपमूलक तालिम, स्थानीय उद्योगसँग रोजगारीको ग्यारेन्टी, उद्यमशीलता प्रवर्द्धन तथा युवामैत्री नीति लागू गरिने उनको भनाइ थियो।
“अब पर्साको युवा रोजगारी खोज्दै विदेश होइन, आफ्नै माटोमा भविष्य बनाउनेछ,” उनले दाबी गरे।
निकास र विकासका लागि जनमत पार्टी र ‘हर्न’ चुनाव चिन्ह बाहेक कुनै विकल्प नरहेको उल्लेख गर्दै उनले परिवर्तन चाहने सबै मतदातालाई जनमत पार्टीमा गोलबन्द हुन आह्वान गरे।
कार्यक्रममा जनमत पार्टीका नेताहरू विध्यालाल प्रसाद, रम्भा मिश्रा, भुपेन्द्र साह, सिए देवराज, डा. मनोज कुमार, दिनानाथ साह, सहनवाज राकी, सत्ययुग साह, नरेश राम, सिकेश महतो, निराजन कुशवाहा, शिव यादवलगायतको उपस्थिति रहेको थियो।
स्थानीय युवाहरू दिलिप पासवान, दिनेश हजरा, सरोज पटेलसहित सयौं स्थानीयको सहभागिताले कार्यक्रम उत्साहपूर्ण बनेको थियो।