सर्लाही । नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार गगन थापा चुनावी सरगर्मी चुलिँदै जाँदा सर्लाही आइपुगेका छन्।
प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारलाई तीव्र बनाउँदै थापा सोमबार सर्लाही–४ पुगेका हुन्।
आफ्नो निर्वाचन क्षेत्रमा प्रवेश गर्दा थापालाई कांग्रेस समर्थक तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन्।
सर्लाही आइपुगेकै दिनदेखि उनले चुनावी अभियान औपचारिक रूपमासुरु गरिसकेका छन्।
थापाको सचिवालयका अनुसार पहिलो दिन उनले कांग्रेस समर्थक र कार्यकर्तासँग केन्द्रित भेटघाट गरेका छन्।
बरहथवा, मानपुर र धनकौल बजार क्षेत्रमा कार्यकर्तासँग मात्र छलफल र संवाद गरिएको सचिवालयले जनाएको छ।
यसपटक सर्लाही–४ बाट उम्मेदवारी दिएका थापा चुनावी प्रचारका लागि पाँच दिन क्षेत्रमै बस्ने कार्यतालिका बनाइएको छ।
सोमबारदेखि शुक्रबारसम्म उनी बसवरिया गाउँपालिकामा रहनेछन्।
९६ घन्टामा के–के गर्नेछन् थापा ?
सर्लाही पुगेका थापा मंगलबारदेखि पालिकापालिकामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटमा जुट्ने भएका छन्।
स्वकीय सचिव सबिनबाबु मुडवरीका अनुसार मंगलबार बिहान ८ बजेदेखि बसवरिया गाउँपालिकाबाट चुनावी प्रचारप्रसार सुरु हुनेछ।
थापाले निर्वाचन क्षेत्रका सबै वडामा पुगेर जनताको समस्या सुन्ने र सुझाव संकलन गर्ने योजना बनाएका छन्।
पहिलो चरणको चुनावी अभियानअन्तर्गत उनी सर्लाही–४ मा ९६ घन्टा सक्रिय रहनेछन्।
बसवरियामा पार्टी समर्थकको घर भाडामा लिएर चुनावी ‘सेल्टर’ बनाइएको छ।
सोही स्थानलाई आधार बनाएर थापाले मतदातासँग भेटघाट, छलफल र प्रचारप्रसार गर्नेछन्।
पहिलो चरणमा करिब २५ वडामा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने तालिका रहेको स्वकीय सचिव मुडवरीले बताए।
त्यसपछि शुक्रबार काठमाडौं फर्किने र एक–दुई दिनभित्र पुनः निर्वाचन क्षेत्रमा फर्किने कार्यतालिका रहेको सचिवालयले जनाएको छ।
सर्लाही–४ मा कुल ५१ वडा रहेका छन्। बाँकी वडामा दोस्रो चरणको अभियानमार्फत पुग्ने तयारी कांग्रेस सभापति थापाको छ।