ट्रेन्डिङ

बालेन मधेसविरोधी लुसिफर, ठेलावाला–कबाडीको शत्रु’ : पूर्वमन्त्री अजयकुमार चौरसियाको आक्रोश

वीरगन्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र–२ ले वीरगन्जको नगरसभा गृहमा आयोजना गरेको कार्यकर्ता भेलामा काठमाडौं महानगरका मेयर बालेन शाहमाथि कांग्रेसले खुला हमला गरेको छ ।

भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा कांग्रेस नेता अजयकुमार चौरसियाले बालेनलाई ‘लुसिफर’ को संज्ञा दिँदै उनलाई मधेसविरोधी पात्रको रूपमा चित्रण गरे ।

“काठमाडौंमा मधेसीलाई सबैभन्दा धेरै दुःख दिने मान्छे बालेन हो,” चौरसियाले भने, “फलफूल व्यापारी, ठेलावाला र कबाड व्यवसायीमाथि गरिएको ज्यादती कुनै मधेसीले गर्न सक्दैन।”

उनले बालेनलाई विकासको नाममा गरिबमाथि लात हान्ने शासक मानसिकताको प्रतीक भएको आरोप लगाए ।

“यो चोटि बाध्ने र्‍यापर हो,” भन्दै चौरसियाले थपे, “न मधेसको गीत गाएको छ, न मधेसीले त्यस्तो गीत सुन्न मन पराउँछन्। मधेससँग उसको कुनै भावनात्मक, सांस्कृतिक वा राजनीतिक सम्बन्ध छैन।”

चौरसियाले बालेनप्रतिको लोकप्रियतालाई ‘भ्रमको खेती’ भन्दै त्यसको पछि नलाग्न कार्यकर्तालाई कडा निर्देशन दिए ।

“यस्ता भ्रम बेच्ने पात्रहरूको पछि लागेर होइन, देशमा लोकतन्त्र जोगाउन कांग्रेसलाई मतदान गर्नुस्,” उनले अपिल गरे ।

भाषणको क्रममा उनले आत्मालोचनासहित भावनात्मक अपिल पनि गरे ।

“मसँग विगतमा कुनै गल्ती भएको हुन सक्छ, त्यसका लागि म क्षमा चाहन्छु,” उनले भने, “तर यो निर्वाचन लोकतन्त्र बचाउने निर्णायक घडी हो। व्यक्तिगत कमजोरी बिर्सेर कांग्रेसलाई सहयोग गर्नुस्।”

कार्यकर्ता भेलामा आसन्न निर्वाचनलाई निर्णायक मोडमा पुर्‍याउने रणनीति, संगठन सुदृढीकरण र मतदाता परिचालनबारे छलफल गरिएको कांग्रेस पर्सा क्षेत्र–२ ले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै