ट्रेन्डिङ

धनुषामा आश्रम विवाद : प्रहरीले हान्यो १६ सेल अश्रुग्यास

महेन्द्रनगर । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिज सुग्जोरस्थित सतलोक आश्रमले ऐलानी जग्गा अतिक्रमण गरेको आरोपपछि जग्गा खाली गराउन गएका स्थानीय र आश्रमका अनुयायीबीच झडप भएको छ।

झडपमा दुबै पक्षका गरी एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

स्थानीयका अनुसार आश्रमले लामो समयदेखि अनधिकृत रूपमा ऐलानी जग्गा प्रयोग गर्दै आएको विषयमा विवाद चल्दै आएको थियो। सोही विषयलाई लिएर जग्गा खाली गराउन पुगेका स्थानीय र आश्रम पक्षबीच भनाभन चर्किँदै झडपमा परिणत भएको हो।

आक्रोशित स्थानीयहरूले जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत महेन्द्रनगर–औरही पुल क्षेत्रमा सडक अवरुद्ध गर्दै नाराबाजी गरेका छन्।

आश्रमका अनुयायीहरूले स्थानीयलाई लखेट्दै कुटपिट गरेपछि दुबै पक्ष आमनेसामने भई झडप भएको बताइएको छ।

स्थानीय प्रदर्शनकारीहरूले आश्रमबाट निस्केको एउटा एम्बुलेन्समा तोडफोडसमेत गरेका छन्। अवस्था नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ।

धनुषा प्रहरीका अनुसार नेपाल प्रहरीले ५ तथा सशस्त्र प्रहरीले ११ सेल अश्रुग्यास हानेको हो ।

घाइतेहरूको उपचारका लागि जानकी मेडिकल कलेज र प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।

प्रहरीले अवरुद्ध सडक समेत खुलाएर सवारी आवागमन सुचारु गरेको जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै