ट्रेन्डिङ

१६ वर्षीया बालिकामाथिको बलात्कार घटनामा राजनीतिक संरक्षण अन्त्य गर्न माग

सडकदेखि सदनसम्म संघर्ष गर्ने चेतावनी

बाँके । बाँके जिल्लाको डुडुवा गाउँपालिका–४ मा कक्षा ९ मा अध्ययनरत १६ वर्षीया बालिकामाथि भएको अपहरण तथा सामूहिक बलात्कारको घटनाले देशभर चिन्ता र आक्रोश फैलाएको छ। घटनाप्रति संघीय गणतान्त्रिक गठबन्धनले गम्भीर आपत्ति जनाउँदै दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेको छ।

रिपोर्टर्स क्लब नेपालका अनुसार सद्दाम खान, मैनुदिन खान, समीर खान, फिरोज खान र साहिद खानमाथि बालिकालाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोप छ।

गठबन्धनले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनालाई अमानवीय, निन्दनीय र मानवताविरुद्धको जघन्य अपराधको संज्ञा दिँदै यसले संविधान, कानुनको शासन र न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ। यस्ता घटनाले समाजमा दण्डहीनताको वातावरण सिर्जना गर्ने भन्दै गठबन्धनले गम्भीर चिन्ता व्यक्त गरेको छ।

गठबन्धनले अपराधीको कुनै जात, धर्म, समुदाय वा राजनीतिक पहिचान नहुने स्पष्ट गर्दै अपराधलाई अपराधकै रूपमा हेर्नुपर्नेमा जोड दिएको छ। विज्ञप्तिमा भनिएको छ, अपराधीलाई कुनै पनि प्रकारको राजनीतिक, धार्मिक वा सामाजिक संरक्षण दिइए समाजमा अपराध झनै बढ्ने खतरा रहन्छ।

घटनाको निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न गठबन्धनले पाँच बुँदे माग अघि सारेको छ। जसअनुसार आरोपितलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धान गर्न, दोषी ठहरिए कडा सजाय सुनिश्चित गर्न, पीडित र परिवारलाई सुरक्षा, निःशुल्क कानुनी सहायता, स्वास्थ्य उपचार तथा मनोसामाजिक सहयोग उपलब्ध गराउनुपर्ने माग अघि सारिएको छ ।

त्यसैगरी महिला, बालअधिकार र मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई सक्रिय भूमिका खेल्न आह्वान गरिएको छ। राज्यले यस्ता यौनजन्य अपराधप्रति शून्य सहनशीलताको नीति अपनाउनुपर्नेमा जोड दिइएको छ ।

गठबन्धनले पीडितलाई न्याय दिलाउन सडकदेखि सदनसम्म संघर्ष जारी राख्ने चेतावनी दिँदै न्याय नपाएसम्म आवाज उठाइरहने जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै