बारा — नेपाली कांग्रेसले आयोजना गर्न लागेको विशेष महाधिवेशनमा सहभागिता जनाउन बारा जिल्लाबाट अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ प्रस्थान गरेका छन्।
पार्टी संगठनलाई मजबुत बनाउने, समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल गर्ने तथा विशेष एजेन्डामाथि निर्णय लिन बोलाइएको महाधिवेशनमा सक्रिय सहभागिता जनाउने उद्देश्यसहित प्रतिनिधिहरू राजधानीतर्फ हिँडेका हुन्।
जिल्ला सचिव राजेश रौनियारका अनुसार बाराबाट निर्वाचित अधिकांश प्रतिनिधि महाधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्ने तयारीसहित काठमाडौँ पुगेका छन्। भोलिदेखि सुरु हुने महाधिवेशनमा पार्टीको आन्तरिक लोकतन्त्र सुदृढीकरण, सांगठनिक सुधार, भावी रणनीति निर्माण तथा राष्ट्रिय राजनीतिसँग सम्बन्धित महत्वपूर्ण विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।
कांग्रेस बारा जिल्ला समितिले विशेष महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध र सशक्त बनाउने विश्वास व्यक्त गर्दै प्रतिनिधिहरूलाई सहभागिताका लागि ह्विप जारी गरिसकेको जनाएको छ। प्रतिनिधिहरूले पनि महाधिवेशनबाट सकारात्मक सन्देश र ठोस निष्कर्ष आउने आशा व्यक्त गरेका छन्।
बाराबाट कुल १०४ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। तीमध्ये ६५ जना भन्दा बढी हालसम्म काठमाडौँ पुगिसकेको कांग्रेस बारा पूर्व उपसभापति सुरेन्द्र गुप्ताले जानकारी दिए। बाँकी प्रतिनिधिहरू पनि भोलिसम्म काठमाडौँ पुग्ने प्रतिबद्धता जनाएका छन्।