ट्रेन्डिङ

वीरगञ्जको हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित, के हो कारण ?

वीरगन्ज । वीरगन्जको हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरु सञ्चालक समिति विरुद्ध आन्दोलित भएका छन् ।

सामुदायिक क्याम्पस हरि खेतानका सञ्चालक समितिले विद्यार्थीको हित विपरितका कार्यहरु गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

सञ्चालक समिति विद्यार्थीको भविष्य प्रती गम्भीर नभएको आरोप लगाउँदै बुधबार विद्यार्थीहरुले क्याम्पसमा तालाबन्दि गरेर विरोध प्रदर्शन गरेका छन् । बिहानी कक्षाका विद्यार्थीहरु बसेको बसलाई समेत निस्कन नदिएर विद्यार्थीहरुले सञ्चालक समिति र क्याम्पस प्रशासन विरुद्ध नाराबाजी गरेका थिए ।

मंहगो शुल्क निर्धारण गरेर एकमुष्ठ तिर्न बाध्य पारेको, समयमा परिक्षा सञ्चालन नगरेको, दिवा बस सेवा बन्द गरेको, अनावश्यक रुपमा प्रकृया मिचेर कर्मचारी नियुक्ती तथा छात्रवृत्तिको प्रकृया गलत बनाइएको जस्ता कारणले आन्दोलन गर्न बाध्य भएको आन्दोलित विद्यार्थीहरु बताउँछन् ।

एकैपटक पच्चिस हजार रुपैंया तिर्न नसक्दा परिक्षाबाट वञ्चित गरिदिने क्याम्पस प्रशासनले धम्की दिएको उनीहरुको आरोप छ । शुल्क लगाएतका कारण देखाउँदै अहिलेसम्म आन्तरिक एउटा पनि परिक्षा नहुँदा विद्यार्थी मारमा परेका छन् ।

क्याम्पसको शैक्षिक वातावरण व्यवस्थापन गर्न विभिन्न बाहना गर्ने सञ्चालक समितिले अनावश्यक रुपमा कर्मचारी भर्ना गरेको प्रती उनीहरुले असन्तुष्टि जनाएका छन् । क्याम्पसबाट दिइने छात्रवृत्तिलाई क्पाम्पसका सल्लाहकार प्रकाश खेतानको जेपि इन्टरप्राइजेजको कार्यालय मार्फत मनलाग्दी वितरण गर्दा विद्यार्थीहरु हतोत्साही भएको उनीहरुको भनाई छ ।

दिवा बस सेवा बन्द गर्दा विद्यार्थीहरु सार्वजानिक सवारीमा भाडा तिरेर क्याम्पस आउन बाध्य बनेका छन् ।

निमित्त क्याम्पस प्रमुख रविन्द्र यादवले समेत विद्यार्थीका असन्तुष्टि सहि भएको बताए। सञ्चालक समितिसँग उल्लेखित समस्याबारे पटकपटक जानकारी गराउँदा पनि सुनुवाई नभएको उनको गुनासो छ ।

यादवका अनुसार ४०/४५ जना अटाउने बसमा सय भन्दा बढी विद्यार्थी चढाउनुपर्ने बाध्यता रहेको छ  । पछिल्लो समय सञ्चालक समितिले गरेको गतिविधिले सामुदायिक क्याम्पसलाई निजिकरण तर्फ डोहोर्याउन लागेको भान आफूलाई समेत लागेको उनले जनाए ।

नियम विपरित सञ्चालक समितिले गरेका पछिल्ला निर्णय तथा नियुक्तिको विरोधमा हरि खेतान कर्मचारी यूनियन तथा हरि खेतान प्राध्यापक संघले मंगलबार संयुक्त विज्ञप्ति समेत निकालेका थिए ।

सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतानले भने आरोपहरु निराधार भएको र समिति विधान बमोजिम अघि बढेको बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै