जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले सामाजिक सद्भाव, आपसी सम्मान र शान्ति कायम राख्न आग्रह गरेका छन् ।
प्रदेशवासीको नाममा सोमबार अपिल जारी गर्दै यस्तो आग्रह गरेका हुन् । मधेश विविध भाषा, धर्म, संस्कृति र परम्पराको सुन्दर संगम स्थल भएको उल्लेख गर्दै उनले सदियौंदेखि आपसी सहअस्तित्व, ‘अतिथि देवो भवः’ र ‘वसुधैव कुटुम्बकम्’ को मूल्य–मान्यतालाई आत्मसात गरेको बताए ।
प्रदेश प्रमुख कर्णले पछिल्लो समय केही स्थानमा देखिएका असहिष्णु गतिविधि र असमझदारीले सामाजिक एकता र भाइचारामा आँच पुग्न सक्नेप्रति चिन्ता व्यक्त गरेका छन् ।
समाजलाई विभाजन गर्ने तत्वबाट सचेत रहँदै कुनै पनि प्रकारको उक्साहट वा आवेगमा नआई धैर्य र संयम अपनाउन उनको अनुरोध छ ।
विचार र आस्थामा भिन्नता हुन सक्ने भए पनि मानवीय पहिचान र सामाजिक एकता साझा भएको उल्लेख गर्दै सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको भावना चोट पुग्ने कार्य नगर्न प्रदेश प्रमुखको अपिल छ। साथै समाजमा शान्ति, सहिष्णुता र अमनचयन कायम राख्न एकजुट हुन आग्रह गरिएको छ।
संवाद, सहकार्य र आपसी समझदारी नै हरेक समस्याको समाधान भएको उल्लेख गर्दै उनले मधेश केवल विविधताको भूमि मात्र नभई एकता, प्रेम र सद्भावको भूमि भएको प्रस्ट्याएका छन् ।
शान्ति र सद्भाव नै मधेशको पहिचान भएको प्रदेश प्रमुख कर्णको भनाइ छ ।
