ट्रेन्डिङ

रौतहटका मुख्य सडकमा किन टाँसियो रिफ्लेक्ट स्टिकर ?

रौतहट । हुस्सु र कुहिरोका कारण रातिको समयमा बढ्न सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न रौतहट जिल्लाका प्रमुख सडक खण्डहरूमा रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान सञ्चालन गरिएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले तयार पारी मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट स्वीकृत गरेको ‘सडक दुर्घटना विरुद्ध युवा–२०८२’ कार्ययोजना अन्तर्गत उक्त अभियान अघि बढाइएको हो।

अभियान अन्तर्गत रौतहटको पूर्व–पश्चिम राजमार्गमा पर्ने धनसर पुलदेखि बागमती पुलसम्म तथा चन्द्रनिगाहपुर–गौर सडक खण्डको बाल्चनपुर क्षेत्रसम्म पुल, कल्भर्ट, साइनबोर्ड लगायतका जोखिमयुक्त स्थानमा करिब ३५० फिट बराबरका विभिन्न रङका रिफ्लेक्ट स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त सहकार्यमा उक्त कार्य सम्पन्न गरिएको हो।

इन्स्पेक्टर मगरका अनुसार उज्यालो कम हुने रात्री समयमा रिफ्लेक्ट स्टिकरले सडकको स्पष्टता बढाउने, चालकलाई मार्ग पहिचान गर्न सजिलो बनाउने र दुर्घटनाको सम्भावना घटाउने अपेक्षा गरिएको छ।

पछिल्ला केही दिनदेखि रौतहटसहित सम्पूर्ण मधेस प्रदेशमा बिहानैदेखि बाक्लो हुस्सु र चिसो बढ्दै गएको छ, जसका कारण सवारी आवागमन प्रभावित हुँदै आएको छ। यस्तो अवस्थामा सडक सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यो पहल प्रभावकारी हुने विश्वास प्रहरीको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै