सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि दोषी पहिचान हुन नसक्नुले प्रहरीको अनुसन्धानप्रति गम्भीर प्रश्न उठेको छ।
घटनाको प्रकृति अत्यन्त संवेदनशील र गम्भीर हुँदाहुँदै पनि प्रहरीले अपेक्षित प्रगति गर्न नसकेको आरोप स्थानीयले लगाएका छन्।
गत मङ्सिर २२ गते कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकै झाडीमा अविनाको शव फेला परेको थियो।
तर यतिका दिन बित्दा पनि मुख्य अभियुक्त सार्वजनिक नहुनु र ठोस नतिजा नआउनुले पीडित परिवार न्यायबाट टाढा धकेलिएको महसुसमा छ।
मृतककी आमा दयावती दनुवारले छोरी गुमाएको पीडामाथि प्रहरीको निष्क्रियताले थप चोट पुर्याएको बताइन्।
“छोरीको हत्या भएको तीन साता भयो, तर आजसम्म दोषी को हो भन्ने थाहा छैन। हामीजस्ता गरिबको आवाज कसैले सुन्दैन,” भन्दै उनले न्यायको माग गरिन्।
स्थानीय बासिन्दाहरूका अनुसार घटनाको प्रारम्भिक अवस्थाले गम्भीर अपराधको संकेत गरे पनि अनुसन्धानमा सुस्ती देखिएको छ।
यही कारण स्थानीयमा प्रहरीप्रति आक्रोश बढ्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले अनुसन्धान भइरहेको दाबी गरे।
उनका अनुसार घटनालाई विभिन्न कोणबाट अध्ययन गर्दै प्रमाण संकलन र विश्लेषणको काम जारी छ।
तर प्रहरीको यही दोहोरिएको आश्वासनले पीडित परिवार र स्थानीय सन्तुष्ट हुन सकेका छैनन्।
दोषी तत्काल पक्राउ गरी कडा कानुनी कारबाहीको माग गर्दै स्थानीयले आन्दोलनसमेत गरेका छन्।
उनीहरूले अब ढिलाइ सह्य नहुने चेतावनी दिएका छन्।