जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत लिनका लागि औपचारिक प्रक्रिया अघि बढाएका छन्।
मुख्यमन्त्री यादवले विश्वासको मतसम्बन्धी कार्यसूची तय गर्न वातावरण बनाइदिन आग्रह गर्दै आज प्रदेश सभाका उपसभामुखलाई लिखित पत्र पठाएका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मधेस प्रदेश सरकारको लेटरहेडमा पठाइएको उक्त पत्रमा नेपालको संविधानको धारा १८८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने उल्लेख गरिएको छ।
पत्रमा यही पुस ४ गते शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरिएको छ।
मुख्यमन्त्री यादवले पत्रमार्फत प्रदेश सभाको बैठक सञ्चालनका लागि आवश्यक वातावरण निर्माण गर्न आग्रह गरेका छन्।
प्रदेश सरकारको नेतृत्वमा रहेका यादवले गठबन्धन दलहरूबीच सहमति जुटेपछि विश्वासको मत लिन तयारी थालेका हुन्।
यसअघि ६ दलीय गठबन्धनबीच भएको सहमतिअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय गरेका थिए।
सोही निर्णय कार्यान्वयनका लागि आज औपचारिक रूपमा प्रदेश सभामा पत्र पठाइएको हो।
