जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दिएको राजीनामा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले स्वीकृत गरेका छन्।
प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवका अनुसार यादवले बुधबार सर्वोच्च अदालतको परमादेशअनुसार विश्वासको मत लिन बोलाएको प्रदेश सभा बैठकमा बहुमत नपाएको कारण राजीनामा दिएका थिए।
प्रदेश प्रमुख कर्णले संविधानको धारा १६९ को उपधारा ३ बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई कार्यवाहक रूपमा सञ्चालन गर्न तोकेका छन्।
अब कर्णले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउने जनाइएको छ।
यस निर्णयसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको बाटो खुला भएको छ।
