जनकपुर। मधेश प्रदेशमा आइतबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन्।
सिराहा र सप्तरीमा भएका दुर्घटनामा एक–एक जनाको मृत्यु भएको हो।
सिराहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरास्थित सडकमा म.प्र.०१–००४ प ७८४८ नम्बरको मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा साइकल चालक ७० वर्षीय सत्यनारायण ठाकुरको मृत्यु भएको छ।
विष्णुपुर–५ लक्ष्मीपुर बस्ने ठाकुर गम्भीर घाइते भई प्रादेशिक अस्पताल सिराहामा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार एक जना घाइते भएका छन्। उनी विराटनगरस्थित आर्य न्युरो अस्पतालमा उपचाररत छन्। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबीच सप्तरीको खडक नगरपालिका–११ बनौलीस्थित सडकमा प्रदेश २–०१–००१ प १७०८ नम्बरको मोटरसाइकलको ठक्करबाट ४२ वर्षीय दिप्रेन्द्र पासवानको मृत्यु भएको छ।
गम्भीर घाइते भएका उनी छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते छन् र सोही अस्पतालमा उपचाररत रहेका छन्।
प्रहरीले दुबै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।