ट्रेन्डिङ

राजस्व सङ्कलनमा सुस्ती, वीरगन्ज भन्सार चार महिनामै पछि पर्‍यो

वीरगन्ज । चालु आर्थिक वर्ष २०८२/८३ का चार महिनामा वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलन लक्ष्यअनुरूप अघि बढ्न नसक्दा कार्यालयको समग्र प्रदर्शन दबाबमा परेको छ।

भन्सार विभागले तोकेको लक्ष्यभन्दा करिब १५ प्रतिशत कम राजस्व मात्र उठेपछि भन्सारको कार्यसम्पादन फेरि एकपटक प्रश्नमा परेको हो।

कार्यालयका अनुसार साउन, भदौ र असोज महिनामा राजस्व वृद्धि सामान्य रूपमा अघि बढेको थियो।

तर कात्तिक महिनामा भने परिस्थितिले साथ नदिँदा सङ्कलन घटेको प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले बताए।

उनका अनुसार जेनजी आन्दोलन, छठपर्वको चहलपहल, तथा बाढी–पहिरोका कारण ढुवानी गतिविधि सुस्त बनेपछि भन्सार राजस्वमा प्रत्यक्ष असर परेको हो।

कात्तिक महिनामा मात्रै रु २३ अर्ब ६३ करोड उठ्ने लक्ष्य निर्धारण गरिए पनि अन्ततः रु १७ अर्ब ३३ करोड सङ्कलनमा सिमित भएको कार्यालयले जनाएको छ।

“पहिलो तीन महिनामा लक्ष्य उन्मुख प्रगति थियो,” ज्ञवालीले भने, “तर कात्तिकको अवरोधले समग्र आयमा गिरावट आयो।”

हालसम्म वीरगन्ज भन्सारले जम्मा रु ७५ अर्ब ५८ करोड राजस्व उठाएको छ।

कार्यालयले आगामी महिनामा व्यापारिक आवागमन सामान्य बन्दै गए भन्सार राजस्व अपेक्षित स्तरमा फर्कने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै