महोत्तरी । प्राचीन मिथिला संस्कृतिको गौरव बोकेको साताव्यापी राम–जानकी विवाह महोत्सव सुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’ विधिको तयारी तिव्र बनेको छ।
जनकपुरधाममा महोत्सव औपचारिक रूपमै प्रारम्भ भएपछि एक दिनअघि गरिने परम्परागत ‘मटकोर’का लागि लक्ष्मीनारायण मठले तयारी अघि बढाएको हो।
यस वर्ष विवाहपञ्चमी मङ्सिर शुक्ल पञ्चमीका दिन, अर्थात् मङ्गलबार परेको हुँदा ‘मटकोर’ सोमबार सम्पन्न हुनेछ।
महोत्सवअन्तर्गत नगर दर्शन, फूलबारी लीला र धनुषयज्ञ क्रमशः बिहीबार, शुक्रबार र शनिबार सम्पन्न भइसकेका छन्।
मटिहानीस्थित लक्ष्मीनारायण मठलाई मुलुककै प्राचीन नायक मठ मानिन्छ।
विश्वास अनुसार त्रेतायुगमा श्रीराम–सीताकै विवाहका लागि जनकपुरमा बनाउनुपर्ने यज्ञवेदीको माटो यही मटिहानीबाट खनिएको थियो।
यही धार्मिक आस्थाले आज पनि विवाहपञ्चमीअघिल्लो दिन मटिहानीमा ‘मटकोर’ पर्व मनाइँदै आएको मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णव बताउँछन्।
उनका अनुसार मटकोरमा नेपाल–भारतका साधुसन्त र स्थानीय बासिन्दाको उत्साहपूर्ण सहभागिता रहँदै आएको छ।
विधिअन्तर्गत पवित्र स्थानबाट माटो खनेर मण्डप, वेदी, चुल्हो र देवस्थानहरू लिपपोत गरिन्छ। महिलाहरू बाजागाजासहित भुस, चामल, बेसार, दही, फूल, पान, सुपारी र अक्षता सहित भूमि पूजन गर्दै माटो खन्न जाने प्रचलन मिथिलामा प्राचीनकालदेखि कायम छ।
राजकीय संस्कृत मावि मटिहानीका कर्मकाण्ड विशेषज्ञ शोभाकान्त झाका अनुसार भूमि पूजन पृथ्वीबाट माटो खन्न अनुमति माग्ने धार्मिक प्रक्रियाको प्रतीक हो।
यही माटोले वेदी, चुल्हो र देवस्थल सजाइने भएकाले यसको धार्मिक महत्त्व अत्यधिक मानिन्छ।
मटकोरसँगै मटिहानीमा भारतबाट आउने साधुसन्तको स्वागत, आवास र भोजनको विशेष प्रबन्ध मिलाइने गरिएको छ।
विवाहपञ्चमीअघिल्लो दिन साधुसन्त मटिहानीमै बास बस्ने परम्परा अहिले पनि जीवित छ।
साताव्यापी विवाह महोत्सवका विभिन्न चरणहरू जनकपुर र मिथिलाभर समान उत्साहका साथ मनाइन्छन्।
पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन स्वयम्वर तथा विवाह र सातौँ दिन रामकलेवा परम्पराअनुसार मनाइने चलन छ।
अयोध्यासहित भारतका विभिन्न प्रान्तबाट आउने साधुसन्त मङ्सिर शुक्ल पक्ष प्रारम्भसँगै नेपाल प्रवेश गर्न थाल्छन्, तर अधिकाँश विवाहपञ्चमीको एक दिनअघिदेखि भित्रिने परम्परा रहिआएको छ।
उनीहरू मटिहानी बास बसेर भोलिपल्ट जलेश्वरनाथ महादेवको दर्शन गर्दै पिपरामा दिवाभोजपछि जनकपुरस्थित रङ्गभूमी र विवाहमण्डपमा पुग्ने गर्दछन्।
महोत्सव सुरु भएसँगै पूरा मिथिला उत्सवमय बनेको छ भने मटिहानी र जलेश्वर क्षेत्रमा त तयारी र आवत–जावत अझै घना हुँदै गएको छ।