बारा । जितपुरसिमरा उपमहानगरपालिका–२ सिमराचोकमा युवा संघ र जेन–जी समूहबीच भएको झडपपछि बारा क्षेत्रको सुरक्षा अवस्था एकाएक संवेदनशील बनेको छ।
राजनीतिक तथा समूहगत असुरक्षा बढ्दै गएको भन्दै जेन–जीका कार्यकर्ताहरू बिहीबार बिहान ११ बजेदेखि वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रमा सडकमा उत्रिएका छन्।
प्रदर्शनकारीहरूले सिमराचोकमा भएको भिडन्तमा संलग्न व्यक्तिमाथि तत्काल कडा कारबाही गर्न माग राखेका छन्।
उनका अनुसार झडपमा घाइते हुने परिस्थिति सिर्जना गर्नेहरूलाई कानुनी प्रक्रियामा नल्याएसम्म प्रदर्शन रोकिने छैन।
यसअघि जेन–जी र युवा संघबीचको झडपपछि दर्ता भएको किटानी जाहेरीका आधारमा प्रहरीले दुई वडाध्यक्षलाई पक्राउ गरिसकेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार पक्राउ जितपुरसिमरा–२ का ४० वर्षीय वडाध्यक्ष धनबहादुर श्रेष्ठ र जितपुरसिमरा–६ का ३४ वर्षीय वडाध्यक्ष कैमुद्दिन अन्सारी
रहेका छन्।
प्रदर्शन अहिले सम्म शान्तिपूर्ण रूपमा अघि बढिरहेको प्रहरीले जनाएको छ। तर प्रदर्शनकारीहरूले “माग सम्बोधन नभए दबाब चरण बढाउँदै लैजाने” चेतावनी दिएका छन्।
सिमराचोकमा उत्पन्न भएको तनाव र पछिल्लो सडक प्रदर्शनसँगै बारा क्षेत्रमा सुरक्षा निकायले सतर्कता बढाएको छ।