ट्रेन्डिङ

सिमरा झडप प्रकरणमा दुई वडाध्यक्ष पक्राउ

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ सिमराचोकमा बुधबार भएको झडप प्रकरणमा दुई वडाध्यक्ष पक्राउ परेका छन्।

युवा संघ र जेन–जी समूहबीच अचानक भएको भिडन्तपछि परिस्थिती तनावग्रस्त बनेको थियो।

यो प्रकरणमा प्रहरीले जितपुरसिमरा–२ का ४० वर्षीय वडाध्यक्ष धनबहादुर श्रेष्ठ र जितपुरसिमरा–६ का ३४ वर्षीय वडाध्यक्ष कैमुद्दिन अन्सारीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार दुवै जनप्रतिनिधि घटनामा संलग्न भएको आशंकामा पक्राउ गरिएको हो।

झडपमा सम्राट (साइकुल) उपाध्याय घाइते भएपछि उनले आफूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण गरिएको दाबी गर्दै इलाका प्रहरी कार्यालय सिमरामा किटानी जाहेरी दिएका थिए।

जाहेरी दर्तासँगै घटनामा जनप्रतिनिधिसहित अन्य व्यक्तिको संलग्नता हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान विस्तार गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेकाद्वयको प्रारम्भिक बयान प्रक्रिया अघि बढाइएको छ। ‘‘दुवै स्थानीय तहका जिम्मेवार पदाधिकारी भएकाले उनीहरूको भूमिकाबारे थप गम्भीर रूपमा अनुसन्धान गरिँदैछ,’’ एसपी तामाङले बताए।

यसै प्रकरणमा अन्य व्यक्तिहरू पनि संलग्न हुन सक्ने प्रहरीको आशंकासँगै पहिचान र वास्तविक कारण पत्ता लगाउने कार्य तीव्र पारिएको छ।

घटनापछि सिमराचोक क्षेत्रमा सुरक्षाप्रति स्थानीयको चासो बढेको छ। प्रहरीले अफवाहमा नपर्न, विवाद नबढाउन र अनुसन्धानमा सहयोग गर्न अपिल गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै