कलैया । श्रमजीवी बहुउद्देश्यीय सहकारी संस्था, कलैया–१८ द्वारा आज आयोजित खुल्ला रक्तदान कार्यक्रम समाजमा मानवीयता र परोपकारको उदाहरण बनेको छ।
मोतिसर चौकमा सम्पन्न कार्यक्रममा एक महिलासहित ७२ जनाले प्रत्यक्ष रूपमा रगतदान गर्दै जीवन बचाउने कार्यमा महत्वपूर्ण योगदान पुर्याएका छन्।
स्थानीय युवादेखि विभिन्न पेशामा संलग्न नागरिकहरूले उत्साहपूर्वक रक्तदान गरेका कार्यक्रमले “रगतदान—जीवनदान” भन्ने संदेशलाई व्यवहारमै उतारेको छ।
संस्थाका अध्यक्ष हुसेन मन्सूरले समाजमा एक–अर्काप्रति सहयोग, समर्पण र जिम्मेवारीको भावना बलियो हुँदै गएको भन्दै सबै रक्तदाताहरूप्रति हार्दिक आभार व्यक्त गरे।
रक्त सङ्कलन बीरगन्जस्थित रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो।
अध्यक्ष मन्सूरका अनुसार यस्ता अभियानहरूले समुदायमा रक्त अभावको समस्या कम गर्न मात्र होइन, आपत्कालीन अवस्थामा अनगिन्ती जीवन बचाउन मद्दत पुर्याउनेछ।
कार्यक्रम सफल पार्न अनिल यादव, भिम गुप्ता, श्रवण कुमार, आलिम मिया, नाजिर हुसेन, अशोक यादव, भोला मिया र नौसाद मन्सूरले विशेष भूमिका निभाएका थिए।
सहकारी संस्थाले यस्ता मानवीय कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता जनाएको छ।