ट्रेन्डिङ

माओवादी केन्द्रले मधेस प्रदेशका दुई सांसदलाई कारबाही गर्ने

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले आफ्ना पार्टीका दुइ सासंदलाइ कारवाही गर्ने भएको छ ।

पार्टीले मधेश प्रदेश सभाका दुई सांसदमाथि पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । मधेस प्रदेश सभा सदस्य रहबर अन्सारी र मालाकुमारी कर्णमाथि कारवाही गरिने माओवादी केन्द्र संसदीय दलका मधेस प्रदेश नेता भरत साहले बताए । 

उनका अनुसार तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले लिएको विश्वासको मतमा पार्टीको ह्विप विपरीत मतदान नगरेको भन्दै प्रदेशसभा सदस्य अन्सारी र कर्णविरुद्ध कारबाही गर्ने निर्णय भएको हो । 

साहका अनुसार विश्वासको मतका दिन बोलाइएको प्रदेशसभा बैठकमा दुवै सांसदले पार्टीको निर्देशन विपरीत उभिएर विश्वासको मत नदिने घोषणा गरेका थिए । यही कारण पाँचदलीय गठबन्धनको समर्थनमा बनेको लोसपा नेता जितेन्द्रप्रसाद सोनल नेतृत्वको सरकार ढलेको थियो ।

‘पार्टीको निर्णयविपरीत कार्य गरी प्रदेशसभामा अनुशासन भङ्ग गरेको पाइएकोले दुवै सांसदमाथि संगठनात्मक कारबाही अघि बढाइएको हो,’ नेता साहले भने, ‘केन्द्रीय समितिले उनीहरूलाई साधारण सदस्यताबाट समेत निष्कासन गर्ने निर्णय गरिसकेको छ ।’

केन्द्रबाट आधिकारिक पत्र प्राप्त भएपछि प्रदेशसभामा दुवै जनाको पद खारेजीका लागि सिफारिस गरिने बताइएको छ । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै