रौतहट । रौतहटको कटहरिया नगरपालिकामा दुई दिनको फरकमा दुई किशोरीले आत्महत्या गरेका छन ।
यसरी आत्महत्या गरेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।
बुधबार दिउँसो करिब सवा २ बजे कटहरिया नगरपालिका–८ बलुवा टोलकी १८ वर्षीया रञ्जिता कुमारी यादवले (रामेश्वर राय यादवकी छोरी) आफ्नै घरको छानोमुनी धरैनमा प्लास्टिकको डोरी प्रयोग गरी झुण्डिएर ज्यान दिएकी प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
टोलीले घटनास्थल मुचुल्का उठाएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।
यसअघि मंगलबार साँझ कटहरिया नगरपालिका–५ निवासी जयमंगल पासवानकी १७ वर्षीया छोरी छोटी पासवानले पनि घरभित्र सलको पासो लगाएर आत्महत्या गरेकी थिइन्।
घटना हुँदा घरमा अन्य सदस्य नभएको र उनी एक्लै रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।
लगातार दुई दिनभित्रै दुई किशोरीले आत्महत्या गरेपछि कटहरिया क्षेत्रका बासिन्दा आत्तिएका छन्।
दुवै घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।