ट्रेन्डिङ

मधेसमा सोनल सरकारले आज विश्वासको मत लिँदै, क- कसको छ समर्थन ?

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल (सोनल) आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।

संविधानको धारा १६८ को उपधारा (४) अनुसार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी गरेका छन्।

गत कार्तिक २९ गते पाँच दलको समर्थनमा सरकार गठन गरेका सोनल आज विश्वासको मतको परीक्षामा उत्रिँदैछन्।

अघिल्लो सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह अल्पमतमा परेपछि पदबाट राजीनामा दिएका थिए।

त्यसपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्दा सोनलले पाँच दलको समर्थनसहित मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए।

सोनल नेतृत्वको सरकार गठनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी मुख्य साझेदार छन्।

पछिल्लो चरणमा नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले पनि सरकारलाई विश्वासको मत दिने प्रतिबद्धता जनाएका छन्।

यी दुई दलको समर्थनपछि सोनल सरकारको बलियो बहुमत सुनिश्चित भएको देखिन्छ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०४ जना सदस्य रहेका छन्, जसअन्तर्गत बहुमतका लागि ५४ मत आवश्यक पर्छ।

सोनलको पक्षमा यसरी हेर्दा अहिले ५७ मत पुगेको अनुमान गरिए पनि जसपा नेपालका एक सांसद निलम्बनमा परेपछि यो संख्याा ५६ रहनेछ ।

सोनल सरकारमा जसपाका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, साथै नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १–१ जना सांसद छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै