वीरगन्ज । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वीरगन्ज भन्सार नाकाबाट भएको निर्यातमा उल्लेख्य वृद्धि भएको छ।
गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा यो वर्ष निर्यात रकम झण्डै तीनगुणा बढी पुगेको भन्सार कार्यालयले जनाएको छ।
वीरगन्ज भन्सारका प्रमुख प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आर्थिक वर्षका तीन महिनामा रु २६ अर्ब ५९ करोड मूल्य बराबरका वस्तुहरू निर्यात भएका छन्।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा भने रु ८ अर्ब ८४ करोड बराबरका सामान मात्र बाहिरिएका थिए।
भन्सारका तथ्यांक अनुसार यो अवधिमा भटमासको प्रशोधित तेल सबैभन्दा बढी निर्यात भएको छ।
तीन महिनामा मात्रै ६ करोड ७१ लाख लिटरभन्दा बढी तेलको निर्यात भएको छ, जसको मूल्य करिब रु १३ अर्ब ९८ करोड पुगेको छ।
तेलपछि सबैभन्दा ठूलो निर्यात वस्तुका रूपमा जुस रहेको छ।
यो अवधिमा २ करोड १२ लाख लिटरभन्दा बढी जुस विदेश पठाइएको छ, जसको मूल्य करिब रु २ अर्ब ७ करोड रहेको छ।
त्यस्तै, सूर्यमुखीको प्रशोधित तेल करिब रु १ अर्ब ७० करोड, कपडा करिब रु ९७ करोड, र सेन्थेटिक यार्न करिब रु ६६ करोड मूल्य बराबरका परदेश निर्यात भएका छन्।