बारा । बाराको सुवर्ण गाउँपालिकाका एक वडा अध्यक्षमाथि एक महिलाबाट डाका शैलीमा ३ लाख रुपैयाँ लुटेको आरोप लागेको छ।
सुवर्ण गाउँपालिका–६ मुसहर्नाका ओजिर मिया कुजडा र उनकी श्रीमती मेरातुन नेशाले गाउँपालिका–८ का वडा अध्यक्ष सैबुल्लाह मिया कुजडामाथि यस्तो आरोप लगाएका हुन्।
पीडित मेरातुनका अनुसार वडा अध्यक्ष कुजडाले उनलाई मुक्काले प्रहार गर्दै जमीनमा लडाएपछि सारिमा बाँधिएको नगद च्यातेर लुटी फरार भएका हुन्।
घटनापछि घाइते अवस्थामा रहेका ओजिर मियाले कलैया प्रादेशिक अस्पतालमा उपचार गराइरहेका छन्।
अस्पतालमा पत्रकारहरूसँग कुरा गर्दै उनीहरूले वडा अध्यक्षमाथि लुटपाटको आरोप लगाएका हुन्।
मेरातुन खातुनका अनुसार वडा अध्यक्षले उनको छोरालाई पनि छातीमा प्रहार गर्दा केही समयका लागि अचेत भएका थिए।
उनले प्रहरी प्रशासनसँग न्याय दिलाउन माग गरेकी छन्।
घटना आज बिहान करिब ११ बजे कलैयातर्फ जाँदै गर्दा मझरिया पानी ट्यांकी नजिक भएको बताइएको छ।
पीडित दम्पतीका अनुसार वडा अध्यक्ष कुजडा तीनवटा मोटरसाइकलमा आएका करिब ६ जनाको समूहसहित आएको र उनीहरूले पैसा लुटेर फरार भएको आरोप छ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी तेलकुवाबाट प्रहरी सहायक निरीक्षक बिरेन्द्र साह कानुको नेतृत्वमा टोली खटिएको थियो।
करिब १० जना प्रत्यक्षदर्शीहरूले पनि वडा अध्यक्षले नगद लुटेको बताएका छन्।
स्थानीय प्रसनी गुप्ताले वडा अध्यक्षलाई सम्पर्क गर्दा फोन बन्द रहेको र घरमा प्रहरी पुगे पनि उनी भेटिन नसकेको बताइन्।
पीडित पक्षले स्थानीय प्रहरीमा उजुरी दिन नसकेर जिल्ला प्रहरी कार्यालय बारामा जान लागेको बताएका छन्।
यसबारे बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बिजयराज पण्डितले भने, “अहिलेसम्म औपचारिक जाहेरी आएको छैन, जाहेरी आएलगत्तै प्रहरीले छानबिन अघि बढाउने बताए ।’
उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी पीडितलाई न्याय दिलाउन माग गरेका छन्।

यता वडाध्यक्ष कुजडाले भने आफुले कुनै लुटपाट नगरेको प्रतिक्रिया दिएका छन ।
उनका अनुसार जग्गाको विषयमा विवाद भएको थियो, त्यसैमा बरु घम्साघम्सी भएको हो ।
पीडित भनिएकी महिला आफ्नो साखै बहिनी रहेको उनको भनाइ छ ।
पीडितहरु आफ्नै नातेदार रहेकोले लुटने कुरै नभएको उनको दाबी छ ।
कुजडा माओवादी केन्द्रबाट लगातार दुई कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन्।