मकवानपुर । मकवानपुर प्रहरीले ८ किलो भन्दा बढी सुनसहित दुइ जना भारतीयलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले मकवानपुरको हेटौंडाबाट ११ करोड भन्दा बढीको सुनसहित दुइ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले भारत महाराष्ट्र सांगली जिल्लाका पुजारवाडी निवासी २५ वर्षीय अभिषेक अजिनाथ कुटी र सोही ठाउँका २७ वर्षीय राहुल भिट्टिहाललाई पक्राउ गरेको हो ।
मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार प्रहरीले हेटौंडा–१५ रातोमाटे चौकीबाट ८ किलो ४३.९७ ग्राम सुनसहित दुबै जनालाई पक्राउ गरेको हो ।
बरामद सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ रहेको प्रहरी दाबी छ ।
प्रहरी प्रमुख खड्काका अनुसार शनिबार विहान करिब तीन बजेको समयमा खटिएको प्रहरीको विशेष टोलीले रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको अवस्थामा बरामद गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
प्रहरीका अनुसार बरामद स्कुटर रोकी चेकजाँच गर्दा बाड र कुटीले शरीरको विभिन्न भागमा लुकाएर सुन ल्याएका हुन ।
बरामद सुनसहित पक्राउ परेका दुबै जनामाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।