वीरगन्ज । वीरगन्ज महानगरपालिका कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर वीरगन्ज र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालित वीरगन्जको सौन्दर्यकरण गर्न अभियान जारी रहेको छ ।
आइतबार ‘हरियो, स्वच्छ र आकर्षक वीरगन्ज’ अभियान वीरगन्ज महानगरपालिका–१६ मितेरी पुल क्षेत्रबाट सुरु गरिएको थियो।
अभियानको दोस्रो दिन आज नगर प्रमुख राजेशमान सिंहको विशेष उपस्थिति रहेको थियो। यस अभियानको मूल उद्देश्य वीरगन्जलाई हरियालीयुक्त, प्रदूषणमुक्त र पर्यटनमैत्री सहरका रूपमा विकास गर्नु रहेको आयोजकहरूले बताएका छन्।
कार्यक्रममा एसपी पुरनचन्द्र भट्ट, डीएसपी पुरुषोत्तम भण्डारी, ग्रिनसिटीका अध्यक्ष जयप्रकाश खेतानसहित सशस्त्र प्रहरी, नगर प्रहरी, महानगरपालिकाका पदाधिकारीहरू र स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रह्यो। महानगरपालिकाको डोजर प्रयोग गरी मितेरी पुल आसपासको क्षेत्रमा बृहत् सरसफाइ, फोहोर व्यवस्थापन, सडक छेउका झाडी हटाउने तथा हरियाली विस्तारका कार्यहरू सम्पन्न गरियो।
सो अवसरमा मेयर सिंहले सरसफाइ र सौन्दर्यकरणपछि मितेरी पुलको सो क्षेत्रलाई पार्कको रूपमा विकास गर्ने योजना रहेको जानकारी दिए। उनले निकट भविष्यमा उक्त पार्कको व्यवस्थापन र संरक्षणको जिम्मा सशस्त्र प्रहरीलाई दिइने घोषणा समेत गरे।