वीरगन्ज । बाराको आदर्श कोतवाल गाउँपालिका–१ चिउटाहाका सामाजिक अगुवा प्रदीप कुशवाहा र दिवेश सिंहलाई इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शले नियन्त्रणमा लिएको छ।
प्रहरीले उनीहरूलाई ‘वार्ताका नाममा’ बोलाएर पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमा तीव्र आक्रोश फैलिएको छ। स्थानीय समाजसेवी र सरोकारवालाहरूले कुशवाहा र सिंहको पक्राउलाई गाउँपालिका अध्यक्षको दबाबमा भएको ‘प्रहरी दादागिरी’ भन्दै विरोध जनाएका छन्। समर्थकहरूले उनीहरूलाई अविलम्ब रिहा गर्न माग गर्दै चेतावनी दिएका छन् ।
तर जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, गाउँपालिकामा भएको आगजनी घटनाको छानबिनका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरी स्रोतका अनुसार, यसअघि कुशवाहा र अन्य युवाहरूले गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका थिए।
थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याई म्याद थप प्रक्रिया अघि बढाइएको छ। प्रहरी स्रोतका अनुसार, आजै जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरी कानुनी प्रक्रिया अगाडि बढाइने तयारी गरिएको छ।