महोत्तरी । महोत्तरी जिल्लाको औरही नगरपालिका–४, कटुधारमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक १० वर्षीया बालिकाको मृत्यु भएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन्।
दोषी चालकलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै स्थानीयले आज बिहान ११ बजेदेखि कटुधार खण्डको हुलाकी राजमार्ग अवरुद्ध गरेका छन्।
बुधबार अपरान्हतिर स्थानीय गोविन्द यादवकी छोरी शिवानी यादव साइकलमा जाँदै गर्दा सो दुर्घटना भएको थियो। स्थानीय सन्ध्या यादवसँगै रहेकी शिवानीलाई मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।
उनको उपचारको क्रममा राति महोत्तरीको जानकी एकेडमिक हस्पिटल मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्र भट्ट ले जानकारी दिए । डिएसपी भट्टका अनुसार, कालो ज्याकेट लगाएको व्यक्तिले चलाएको मोटरसाइकलले ठक्कर दिएर भागेको हो र प्रहरीले उक्त मोटरसाइकल र चालकको व्यापक खोजतलास गरिरहेको छ।
दोषी चालकलाई नियन्त्रणमा नलिएसम्म सडक नखोल्ने अडान लिएका स्थानीयवासी र प्रहरी प्रशासनबीच इलाका प्रहरी कार्यालय गौशालामा वार्ता भएको थियो। मृतक परिवार र स्थानीय प्रतिनिधिहरूले दुई दिनभित्र दोषीलाई पत्ता लगाएर कारबाही प्रक्रिया अघि बढाउने प्रहरीको प्रतिबद्धता पछि मात्र सडक अवरोध हटाउन तयार रहेको बताएका छन्।