वीरगन्ज । गत भाद्र २४ गते जेनजी आन्दोलनको मौका छोपी नख्खु कारागार कार्यालय, ललितपुरबाट फरार भएका एक लागुऔषध कसूरका कैदीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।
पर्सा प्रहरीले विशेष सूचनाको आधारमा फरार कैदी ३९ वर्षीय लालबाबु साहलाई उनकै घरबाट पक्राउ गर्न सफल भएको हो।
पर्साको वीरगन्ज महानगरपालिका वडा नं १० रानीघाट बस्ने लालबाबु साहलाई ललितपुर जिल्ला अदालतले लागुऔषध सम्बन्धी कसूरमा २ वर्ष १ महिना कैद र १ लाख ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, कैदी साह भाद्र २४ गते भएको जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका थिए। त्यसयता उनी आफ्नो गाउँघरमा लुकीछिपी बस्दै आएको सूचना प्रहरीले पाएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले हिजो साँझ ५ः३० बजेको समयमा साहलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो।
प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता हरि बहादुर बस्नेतले पक्राउ गरिएका साहलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कारागार कार्यालय (नख्खु) मा पठाइने कार्य भइरहेको जानकारी दिए ।