वीरगन्ज । वीरगन्ज महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा गत भाद्र २४ गते भएको आगजनीका कारण शैक्षिक प्रशासन महाशाखाका महत्त्वपूर्ण फाइलहरू नष्ट भएपछि महानगरपालिकाले सम्बन्धित शैक्षिक संस्थाहरूलाई पुनः कागजात बुझाउन आग्रह गरेको छ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै, आर्थिक वर्ष २०८१/०८२ मा कक्षा अपग्रेडिङ्ग, नयाँ अनुमति, नामसारी तथा ठाउँसारीका लागि दर्ता भएका सम्पूर्ण निवेदन (फाइल) आगलागीमा नष्ट भएको जानकारी दिएको छ। यसले गर्दा महानगरको प्रशासनिक कार्य अगाडि बढाउन कठिनाइ भएको छ।
शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार, कक्षा अपग्रेडिङ्ग तथा नयाँ संस्था अनुमतिका लागि निवेदन दर्ता गरेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू, कोचिङ्ग÷ट्युसन सेन्टर तथा मन्टेश्वरीहरूलाई समय सीमाभित्र पेश गरिएका फाइलहरूको प्रतिलिपि आवश्यक कारबाहीका लागि कार्तिक १६ गते आइतबार कार्यालय समयभित्र पुनः अनिवार्य रूपमा पेश गर्न अनुरोध गरिएको छ।
यस सूचनाको जानकारी प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई समेत गराइएको छ।
