ट्रेन्डिङ

जाँचबुझ आयोगको ‘रडार’मा एनजीओ/आइएनजीओ, फन्डिङको जाँच हुने

वीरगन्ज । जेन–जी आन्दोलनको छानबिन आयोगले देशभरका सबै गैरसरकारी संस्थाहरूको एक वर्षको वैदेशिक सहायताको हिसाब मागेको छ।

परिषद्‌मा विदेशी सहयोगबाट सञ्चालित संस्थाको मात्र विवरण हुने भए पनि, आयोगले आन्दोलनमा सक्रिय संस्थाहरूको आम्दानी र कार्यक्रम खर्चको पारदर्शिता खोज्न यो कदम चालेको हो। आयोग अध्यक्ष कार्कीले जाँचबुझको सिलसिलामा यो विवरण मागिएको जानकारी दिएका छन्।

जेन–जी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीका घटनाको गहन जाँचबुझका लागि गठित उच्चस्तरीय आयोगले आन्दोलनको वित्तीय अवस्था केलाउन महत्त्वपूर्ण कदम चालेको छ।

आयोगले पछिल्लो एक वर्षको अवधिमा मुलुकभरका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ/आइएनजीओ)हरूलाई कति वैदेशिक सहायता आयो भन्ने सम्पूर्ण विवरण झिकाउन समाज कल्याण परिषद्‌लाई औपचारिक पत्र काटेको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले परिषद्‌बाट विवरण मागिएको पुष्टि गर्दै, ‘जाँचबुझको सिलसिलामा एक वर्षको अवधिको सहयोगको विवरण मागेका हौं,’ भने। उनले कुनै निश्चित संस्थालाई मात्र नभई समग्र देशभरका संघसंस्थाहरूलाई आएको सहायताको विवरण मागिएको स्पष्ट पारे।

जेन–जी आन्दोलनमा सक्रिय देखिएका केही व्यक्ति र उनीहरू आबद्ध संघसंस्थाहरूको भूमिका र त्यसको वित्तीय स्रोतमाथि सार्वजनिक वृत्तमा गम्भीर प्रश्न उठ्दै आएका छन्। यसै पृष्ठभूमिमा, आन्दोलनमा सक्रिय संस्थाहरूको आर्थिक स्रोत र खर्चको पारदर्शिता केलाउन आयोगले यो कदम चालेको बुझिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै