बीरगन्ज । मधेश प्रदेश सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ भन्दा बढी दिने निर्णय गरेको छ ।
सरकारमा सहभागी सत्तारुढ दलहरुको संयुक्त बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
सत्तारुढ दलहरुको संयुक्त बैठकले सरकारको तर्फबाट प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा राहतस्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सतिस सिंहले बताए ।
उनका अनुसार आज बसेको मन्त्रीहरुसहित सत्तारुढ दलको बैठकले केन्द्र सरकारलाई सहयोग गर्ने संयुक्तरुपमा यो निर्णय गरेको हो ।
बाढीपहिरोबाट देशमा व्यापक क्षति पुगेकोले केन्द्र सरकारलाई सहयोग गर्ने उद्देश्यले प्रदेश सरकारमा सहभागी दलहरुको बैठकबाट यस्तो निर्णय गरिएको मुख्यमन्त्री सिंह बताउँछन् ।
मुख्यमन्त्रीको कार्यालयमा सत्तारुढ दलको बैठकले योसंगै प्रदेश सरकारको विभिन्न निकायमा नियुक्त कर्मचारीहरुको कामबारे अध्ययन गर्न समिति गठन गरेको छ ।
शुक्रबार बसेको सत्तारुढ दलको बैठकले प्रदेश सरकारको विभिन्न निकायमा नियुक्त कर्मचारीहरुको कामकारबाहीको बारे अध्ययन गरी सुझावसहित प्रतिवेदन पेस गर्न ४ सदस्यीय समिति गठन गरेको हो ।
प्रदेश सांसद उपेन्द्र महतोको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
नवगठित समितिको सदस्यहरुमा मन्त्रीद्वय प्रमोद जैसवाल र शेष नारायण यादव तथा प्रदेश सांसद संजयकुमार यादव रहेका छन् ।
बैठकमा सत्तारुढ दलको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादव, एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, लोसपाका उपेन्द्र महतोसहित मन्त्रीहरु जनार्दन सिंह क्षेत्री, प्रमोद जैसवाल, रानी शर्मासहितका मन्त्रीहरुको सहभागीता थियो ।