ट्रेन्डिङ

जनमत पार्टी छाडेका पूर्व प्रवक्ता शरद सिंह यादवले सुरु गरे ‘राष्ट्रको लागि युवा’ अभियान

जनकपुरधाम । जनमत पार्टीका पूर्व प्रवक्ता शरद सिंह यादवले ‘राष्ट्रको लागि युवा’ अभियान सुरु गरेका छन् ।

पार्टीभित्रको नेतृत्व परिवर्तनको माग पूरा नभएको भन्दै सामूहिक राजीनामा दिएपछि उनले ‘युथ फर नेशन’ को ब्यानरमा अभियान सुरु गरेका छन् । यो अभियानले नेपालको राजनीतिमा जेनजी (जेनेरेसन–जेड) को आवाजलाई स्थापित गर्दै आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेको छ।

शरद सिंह यादवले पार्टी नेतृत्वमा देखिएको स्वेच्छाचारिता र युवा आन्दोलनको भावनालाई जनमत पार्टीले समेट्न नसकेको निष्कर्षसहित वरिष्ठ उपाध्यक्ष अब्दुल खान र जनमत युवा संघका संयोजक सञ्जय यादव लगायतका नेताहरूको समूहसँगै राजीनामा दिएका थिए । उनीहरूले अब यो अभियानमार्फत भ्रष्टाचार निवारण, युवा रोजगारी र समावेशी युवा सहभागिताको मुद्दालाई राष्ट्रिय एजेन्डा बनाउने लक्ष्य लिएका छन् ।

अभियानले भ्रष्टाचारमुक्त समाजको निर्माण, विज्ञहरूको सल्लाहमा राष्ट्रिय नीति निर्माण र युवा आन्दोलनकारीहरूमाथि लागेका झूटा मुद्दा फिर्ता गर्न सरकारसँग माग गर्ने विषयलाई प्राथमिकता दिएको छ। नेता यादवले आगामी निर्वाचनमा अभियानले समर्थन गर्ने उम्मेदवारहरूले अनिवार्य रूपमा सार्वजनिक प्रतिबद्धता जनाउनुपर्ने शर्त राखेका छन् । जसमा आफ्नो चुनावी घोषणापत्र अनुसार काम गर्न नसकेमा राजीनामा दिन तयार रहने जवाफदेहीताको मोडेल पनि समावेश छ।

यो अभियानले अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्न सकिने तर त्यसका लागि पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने, चुनावी टिकटमा ५० प्रतिशतभन्दा बढी युवाको सुनिश्चितता गर्नुपर्ने, अध्यक्ष पदमा १० वर्षभन्दा बढी नबस्ने र परिवारवाद, जातिवाद तथा कृपावाद जस्ता कुप्रथाहरू त्याग्नुपर्ने जस्ता शर्तहरू अघि सारेको छ।

पूर्व प्रवक्ता यादवले यस अभियानलाई देशभर विस्तार गरी युवाहरूको चेतनालाई एकीकृत गर्ने र भविष्यमा यसलाई एक सशक्त राजनीतिक शक्तिको रूपमा विकास गर्ने रणनीति लिएको बताइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै