वीरगन्ज । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई निसाना बनाएर थप योजनाहरू बुनिरहेको भन्दै गम्भीर आशंका व्यक्त गरेका छन्।
बुधवार जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएको भक्तपुर, बालकोटस्थित आफ्नो घरको अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले उक्त आशंका व्यक्त गरेका हुन्।
अध्यक्ष ओलीले वर्तमान गृहमन्त्रीले आफूमाथि व्यक्तिगत दुस्मनी पालेको दाबी गरे। उनले गृहमन्त्रीको पछिल्लो अन्तर्वार्ता हेर्दा सरकारको वास्तविक उद्देश्य र गन्तव्य प्रस्ट देखिएको टिप्पणी गरे।
‘अचानक पलाएका सरकारको तमासासँग एमाले विचलित हुँदैन,’ उनले दृढता व्यक्त गर्दै भने, ‘एमालेले देशमा शान्ति, सुव्यवस्था कायम गरेर र भ्रष्टाचार नियन्त्रण गरेरै छाड्नेछ।’
अध्यक्ष ओलीले जेनजी आन्दोलनको नाममा केही गलत तत्त्वहरूले देशको विरुद्ध भयानक षड्यन्त्र गरेको दाबी समेत गरे। उनले सरकारी, सार्वजनिक र व्यक्तिका घरमा आगजनी गर्नेहरू विशुद्ध आपराधिक समूह भए पनि सरकारले उनीहरूलाई कारबाही गर्न नसकेको आरोप लगाए।
आफ्नो घरमा भएको क्षतिबारे बोल्दै ओलीले जेनजी आन्दोलनका क्रममा आफ्नो घरमाथि तोडफोड, आगजनीका साथै केही महत्त्वपूर्ण सामानहरू लुटिएको बताए ।