ट्रेन्डिङ

जेनजी घाइतेहरूको ५ बुँदे अल्टिमेटमपछि प्रधानमन्त्रीले भनिन् ‘मर्मभन्दा बाहिर जाँदैनौं’

वीरगन्ज । गत भदौमा भएको जेनजी युवा आन्दोलनका घाइते प्रतिनिधिहरूले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर अन्तरिम सरकार प्रमुख सुशीला कार्कीसमक्ष ५ बुँदे मागसहितको अल्टिमेटम बुझाएका छन्।

प्रधानमन्त्रीसँगको भेटमा घाइतेहरूले आफ्ना माग पूरा गर्न सरकारलाई दबाब दिएका छन्। घाइतेहरूको नेतृत्व गरेर बालुवाटार पुगेका रुपिन खड्काका अनुसार उनीहरूको मुख्य मागमा आन्दोलनका क्रममा गोली प्रहार गर्नेमाथि कारबाही, संविधानको समसामयिक सुधार, युवा आन्दोलनको मर्मको संरक्षण र ठूला भ्रष्टाचारका काण्डहरूमाथि तीव्रताका साथ छानबिन हुनुपर्ने विषयहरू समावेश छन्।

घाइतेहरूको माग सुनिसकेपछि प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने प्रतिबद्धता जनाइन् ।

‘हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौं,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘प्रक्रियासम्मत ढंगले, कानुनी रूपमा तल नपर्ने गरी हामी काम गर्छौं। हामीलाई दिइएको म्यान्डेट (तोकिएको समयमा चुनाव गराउने) अनुसार नै चल्छौँ।’

उनले तोकिएको समयमै आम निर्वाचन सम्पन्न हुने दोहोर्‍याउँदै भ्रष्टाचार छानबिनको प्रक्रिया नरोकिने बताइन् । प्रधानमन्त्री कार्कीले राज्यका स्थापित निकायहरूले तीव्र गतिमा भ्रष्टाचारको अनुसन्धान गरिरहेको दाबी गर्दै भनिन्, ‘चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ । तपाईंहरू बोल्न नछाड्नुहोस्। हामीलाई दबाब दिन पनि नछाड्नुहोस्। हेर्नुहोला, अब नतिजा आउँछ।’

भ्रष्टाचार छानबिनमा परेपछि बाहिरबाट भइरहेका टीकाटिप्पणीप्रति सङ्केत गर्दै उनले ‘बाधा दिनेहरूको आवाज’ नसुन्न आग्रहसमेत गरिन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै