वीरगन्ज । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अन्तरिम सरकारले निर्वाचनका लागि उचित र विश्वसनीय वातावरण बनाए आफ्नो पार्टी चुनावमा सहभागिता जनाउन तयार रहेको बताएका छन् ।
तर, हालसम्म सरकारले आम निर्वाचन गराउने दिशामा भरपर्दो कामहरू गर्न नसकेको उनको टिप्पणी छ।
सुर्खेतमा आज आयोजित पूर्वपार्टी सभापति गोविन्दबहादुर मल्लको १३औँ पुण्यतिथिको श्रद्धाञ्जलीसभामा बोल्दै खड्काले सरकारलाई निर्वाचनको सुनिश्चितताका लागि केही महत्वपूर्ण सुझाव दिएका छन् । उनले निर्वाचनको पवित्र उद्देश्यसहित गरिएको ‘जेनजी’ प्रदर्शनमा घुसपैठ गरी लुटिएका हतियारहरू तत्काल फिर्ता गरिनुपर्ने, प्रहरी र सुरक्षा निकायको मनोबल उच्च बनाउनुपर्ने तथा चुनावमा भाग लिने सबै दलहरूलाई विश्वासमा लिएर आम मतदातामा सुरक्षाको प्रत्याभूति गराउनुपर्नेमा जोड दिए ।
कार्यवाहक सभापति खड्काले सरकार चुनावको वातावरण बनाउन छोडेर प्रमुख दलका नेताहरूमाथि पूर्वाग्रही तरिकाले लाञ्छना लगाउने, भ्रम सृजना गर्ने र राजनीतिक अन्योललाई बढाउने काममा लागेको आरोप लगाए ।
खड्काले कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकले आसन्न निर्वाचन, पार्टीको अधिवेशन र देशको वर्तमान राजनीतिक परिस्थितिबारे उपयुक्त र निर्णायक निर्णय लिने जानकारी पनि दिएका छन् ।