ट्रेन्डिङ

जगदम्बा, शिवम् सहित ६ उद्योगको बत्ती काटियो, डेडिकेटेड लाइनको प्रिमियम नतिर्नेलाई प्राधिकरणको एक्सन

वीरगन्ज । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको प्रिमियम महसुल वर्षौंदेखि नतिर्ने प्रमुख उद्योगहरूमाथि कठोर कारबाही सुरु गरेको छ।

लामो समयदेखिको विवादित बक्यौता रकम उठाउने अभियान अन्तर्गत प्राधिकरणले आज बिहान देशका ६ वटा ठूला उद्योगको विद्युत लाइन काटेर आपूर्ति बन्द गरेको छ।

लाइन काटिएका उद्योगहरूमा जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्स रहेका छन्। यी उद्योगहरूले लोडसेडिङको उच्च समय, अर्थात् २०७२ माघदेखि २०७५ वैशाखसम्म विशेष सुविधासहित विद्युत उपभोग गरेबापतको थप महसुल तिरेका थिएनन्।

प्राधिकरणका अनुसार, सबैभन्दा ठूलो बक्यौता जगदम्बा स्टीलको १ अर्ब ६० करोड रुपैयाँ छ। त्यसैगरी, शिवम् सिमेन्टले ७७ करोड ८८ लाख, रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड ३७ लाख, घोराही सिमेन्टले ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख र त्रिवेणी स्पिनिङ मिल्सले ३२ करोड १० लाख रुपैयाँ तिर्न बाँकी रहेको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता रकम असुलीमा प्राधिकरण दृढ रहेको बताएका छन्। उनले तिहारको सार्वजनिक बिदाको समयमा पनि उद्योगहरूले रकम बुझाउन सकून् भनी काउन्टरको व्यवस्था गरिएको जानकारी दिए।

कार्यकारी निर्देशक सिलवालका अनुसार, उद्योगीहरूले किस्ताबन्दीको सुविधा लिएर पहिलो किस्ता भुक्तानी गर्नेबित्तिकै काटिएको लाइन तत्कालै जोडिने व्यवस्था प्राधिकरणले मिलाएको छ। प्राधिकरणको यो कदमले दशकौंदेखि थाती रहेको अर्बौंको बक्यौता विवादलाई अन्त्य गर्ने प्रयास गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै