वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटघाट गरेका छन् ।
नयाँ सत्ता समीकरणपछि मधेश प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेकोमा अध्यक्ष प्रचण्डले मुख्यमन्त्री सोनललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
भेटघाटको क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्थाका साथै विशेष गरी मधेश प्रदेशको सरकार सञ्चालन र भावी योजनाका विषयमा गहन छलफल भएको थियो।
लोसपाका नेता सोनलको नेतृत्वमा गठन भएको वर्तमान मधेश प्रदेश सरकारलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ। भेटका क्रममा क। प्रचण्डले मधेशको विकास र स्थिरताका लागि केन्द्र सरकार र मधेश सरकारबीच सहकार्य अपरिहार्य रहेको भन्दै सरकारलाई माओवादी केन्द्रको पूर्ण सहयोग रहने सुनिश्चितता दिएको बताइएको छ।
मुख्यमन्त्री सोनलले अध्यक्ष प्रचण्डको बधाईका लागि आभार व्यक्त गर्दै, प्रदेश सरकारलाई स्थायित्व प्रदान गर्न र मधेशका जनताको अपेक्षा पूरा गर्न माओवादी केन्द्रसहितको गठबन्धनको समर्थन महत्वपूर्ण हुने बताए ।